काठमाडौं, मंसिर २४ । कतारमा जारी विश्वकप फुटबलमा क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको हो ।
एजुकेसन सिटी स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।
पेनाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे । ब्राजिलका क्यासिमेरो र पेड्रोले गोल गरे भने रोड्रिगो र मार्क्विन्होस पेनाल्टीमा गोल गर्न चुके । अब क्रोएसियाले सेमिफाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ ।