Logo

शोभराजलाई आज अध्यागमनमा बुझाइने



काठमाडौं, पुस ८ । सर्वोच्च अदालतले कैदमुक्त हुने आदेश दिएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजको रिहाइ शुक्रबार मात्र हुने भएको छ।

कारागार व्यवस्था विभागका सुभना अधिकारी रामचन्द्र शिवाकोटीका अनुसार केन्द्रीय कारागार जगन्नाथदेवलमा १९ वर्षदेखि कैदी रहेका शोभराजलाई सर्वोच्च अदालतले रिहा गरी फिर्ता पठाउन (डिपोर्ट गर्न) आदेश दिएकोमा बिहीबार केही प्रक्रिया पूरा गर्न नसकिएकाले शुक्रबार मात्र रिहा गरी अध्यागमन विभागलाई बुझाइने भएको हो।

फ्रान्सका नागरिक शोभराजबाट सन् १९७५ (विक्रम संवत २०३२) मा अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिजलाई काठमाडौँको मनहरामा हत्या भएको थियो। त्यसको दुई दिनपछि क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेको भक्तपुरको साँगामा हत्या भएको थियो।

हत्यापछि फरार भएका शोभराज २०६१ सालमा काठमाडौँ आएका बेला पक्राउ गरिएको थियो। काठमाडौँ र भक्तपुर जिल्ला अदालतबाट हत्या अभियोगमा दोषी ठहर भएका उनलाई फरकरफरक समयमा जन्मकैदको फैसला भएको थियो।

दुई विदेशी नागरिकको हत्यामा दोषी ठहर भएका शोभराजमाथि जाली राहदानी प्रयोग गरेको आरोप लागेको थियो। अध्यागमन विभागले शोभराजले नेपाल आउँदा प्रयोग गरेको राहदानी र कागजपत्र जाँच गरी प्रक्रिया पु-याएर फिर्ता गर्ने तयारी गरेको जनाएको छ। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्