काठमाडौ, पुस २६ । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने पक्षमा बहुमत देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा भर्खरै सम्पन्न पदाधिकारी बैठकमा देउवाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव राखेका थिए।
देउवा समूह विश्वासको मत दिने पक्षमा उभिएपनि कांग्रेसका पदाधिकारीबीच एकमत हुन नसकेपछि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाईएको छ । यसबारे थप छलफल गर्न अहिले बिहान ११ः३० बजे सिंहदरबारमा केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको हो ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने/नदिने भन्नेमा फरक-फरक मत उठेपछि विश्वासको मत दिन नहुने मत राखेका नेताहरुले यसबारे केन्द्रीय समितिले निर्णय गर्नुपर्ने माग अघि सारेपछि तत्कालै केन्द्रीय समिति बैठक बस्न असंभव भएपछि कार्य सम्पादन समितिको बैठक बोलाइएको छ ।
अहिले केहीबेरमा संघीय सांसद् भवन नयाँ वानेश्वरमा कार्य सम्पादन समितिको बैठक बस्ने र त्यसको निर्णयानुसार संसदीय दलको बैठकबाट विश्वासको मत दिनेबारे औपचारिक निर्णय लिने कांग्रेसका एक नेताले बताए। यता, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।
आइतबार बबरमहलस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणीको बैठकले विश्वासको मत दिने वा नदिने भन्ने निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो । लोसपाले आज विश्वासको मत दिने निर्णय गरेको हो । file photo/RN