Logo

बालुवाटारमा ओली-प्रचण्ड भेट, गृह मन्त्रालयबारे छलफल



काठमाडौं, माघ २१ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

भेटमा राष्ट्रपतिको निर्वाचन र गृह मन्त्रालयबारे छलफल भएको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको अल्टिमेटमा आज सकिँदै छ ।

रास्वपाले भागबन्डामा परेको गृह मन्त्रालय आफूहरूलाई दिनुपर्ने अडान लिँदै आइरहेको छ। तर, प्रधानमन्त्री प्रचण्डले रवि लामिछानेको नागरिकता र पासपोर्टको विवाद नसल्टिएकाले तत्काल गृह मन्त्रालय आफूसँगै राख्ने जवाफ दिँदै आइरहेका छन्।

सर्वोच्च अदालतले १३ माघमा लामिछानेको नेपाली नागरिकताको प्रमाणपत्रलाई अवैध ठहर गर्दै उनको मन्त्री र सांसदबाट पदमुक्त गरेको थियो ।

यसपछि १५ माघमा जिल्ला प्रशासन कार्यालयमा अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएरर लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्रलाई ब्युँताए । यसपछि उनले पुनः आफूलाई उप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डसहित सत्तारुढ दलका शीर्षनेताहरुसँग लविङ गर्दै आएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्