काठमाडौं, फागुन १३ । नेकपा (एमाले) ले राष्ट्रपति पदका लागि पार्टी उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
एमालले आजै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रपतिमा नेम्वाङको नाम दर्ता गराउने तयारी रहेको एमाले नेता योगेश भट्टराईले जानकारी दिए ।
यता, वाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको छ । आज विहान सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कांग्रेसले नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
आठ दलीय सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्दैछ । राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउन बैठक बस्न लागेको हो ।