Logo

रास्वपाको शक्ति प्रर्दशनलाई तीनै जना उम्मेदवारले सम्बोधन गर्ने, वारपारको राजनीतिक भिडन्तबारे बोल्दै रवि



काठमाडौं, वैशाख ७ । आउँदो आइतबार हुने प्रतिनिधि सभा उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि सुरु हुँदैछ । बिहीबार मध्यरात १२ बजेदेखि उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने भए पछि दलहरूले आज चुनावी प्रचारलाई व्यापक बनाउने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आज चितवनमा विशेष चुनावीसभा गर्ने भएको छ । दिउँसो ३ बजे चितवनको गेस्ट हाउस चौरमा चुनावीसभालाई रास्वपाका चितवन–२ का उम्मेदवार रवि लामिछाने, तनहुँ–१ का उम्मेदवार स्वर्णिम वाग्ले र बारा–२ का उम्मेदवार रमेश खरेलले सम्बोधन गर्ने कार्यक्रम छ ।

सारा राजनीतिक दल एकातिर, रास्वपा अर्कातिर भएको उल्लेख गर्दै लामिछानेले वारपारको राजनीतिक भिडन्तबारे आमनागरिकलाई केही सुनाउनु पर्ने विषय रहेकाले उपस्थित हुन सामाजिक सञ्जाल मार्फत आग्रह गरेका छन् ।

‘आजको सभा विशेष छ। सारा राजनीतिक दल एकातिर, रास्वपा अर्का तिर। यो वारपारको राजनितीक भिडन्त बारे आज हामी तिनै भाईले चितवनका जनता मार्फत सिङ्गो देशलाई केही सुनाउनु छ। आजको तपाईंको उपस्तिथिले अर्थ राख्छ। आज चितवनमा खास मान्छेहरु पनि आउदैछन् ।’ उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित तीन पूर्वप्रधानमन्त्री पनि आज चितवन पुग्दैछन् । लोकतान्त्रिक बाम गठबन्धनले आज पूर्वी चितवनको कालिका नगरपालिकामा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चितवन–२ मा गठबन्धनका तर्फबाट उमेदवार बनेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको चुनावी सभामा कार्यकर्तालाई सम्बोधन गर्न पार्टीका प्रमुखसहित मुख्य नेता चितवन जान लागेका हुन् ।

आज दिउँसो ३ बजे कालिका नगरपालिका–४ पदमपुरस्थित क्याम्पसको फुटबल मैदानमा चार दलीय गठबन्धनले आयोजना गरेको चुनावीसभालाई प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्