Logo

गोविन्द भट्टराईले हार स्विकारे, आफूलाई अब्बल प्रमाणित गर्न नसकेको भनाई



काठमाडौं, ११ बैशाख । तनहुँ-१ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले हार स्विकारेका छन् । भट्टाईले आफू यसपटक अब्बल प्रमाणित हुन नसकेको भन्दै अझै विश्वास जित्न अझै मेहनत गर्ने विश्वास दिलाएका छन् । मतगणना जारी रहेकै अवस्थामा भट्टराईले यस्तो बताएका हुन् ।

उनले फेशबुकमा लेखेका छन्-

हुन त पदलाई मैले कहिल्यै प्राथमिकतामा राखिनँ । पदमा नरहे पनि तपाईंको पीडाले मलाई छोइरह्यो ।

ठूला आदर्शभन्दा तपाईंको व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो यात्राका क्रममा तपाईंसँग रहेको हुँ । यसक्रममा पार्टीले मलाई विश्वास गरेर तनहुँ १ को उप निर्वाचनमा उम्मेदवार बनाउँदा तपाईंसँगको निकटताका आधारमा जुन आत्मविश्वासका साथ मैदानमा उत्रिएँ, मैले साथ पनि पाएँ ।

मलाई विश्वास गरेर सधैं सकारात्मक प्रतिक्रिया र उत्साह दिएर मप्रतिको विश्वास मतमार्फत प्रकट गर्नुहुने तपाईं सबैप्रति आभार प्रकट गर्दछु ।

चुनावी घरदैलोका क्रममा मेरो विगतप्रतिको तपाईंको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्ने कुराले सानो खुशी पनि दिलाएको महसुस गरें । साथै, मप्रति विश्वास नगर्नुहुनेप्रति पनि आभार प्रकट गर्दछु ।

सायद, मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ । तपाईंहरुको जनादेशलाई शिरोपर गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

उही तपाईंको
गोविन्द



प्रतिक्रिया दिनुहोस्