Logo

गृहमन्त्री श्रेष्ठको उद्घोष : नक्कली शरणार्थी बनाउनेलाई जस्तोसुकै दबाब आएपनि छुट दिन सकिँदैन



काठमाडौं, ३ जेठ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै देशको नागरिकलाई पैसा असुलेर अनागरिक र शरणार्थी बनाउनेलाई जस्तोसुकै दबाब वा प्रभाव आए पनि छुट दिन नसकिने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) का मोर्चा सङ्गठन प्रमुख विजय पौडेल र प्रवक्ता जगन्नाथ खतिवडालगायतको प्रतिनिधिमण्डलले दिएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री श्रेष्ठले दोषी नउम्कने र निर्दोष नफस्ने गरी प्रहरीले स्वतन्त्र अनुसन्धान गरिरहेको विश्वास दिलाएका थिए । एकीकृत समाजवादीले उक्त प्रकरणमा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन स्पष्ट अडान, कार्यकुशलता र सक्रियता देखाएर आम नागरिकमा सकारात्मक सन्देश प्रवाह गरेकामा सरकारलाई धन्यवाद दिएको छ ।

विगतका धेरै भ्रष्टाचार विषय बीचैमा सामसुम पारिएको हुँदा यति गम्भीर मुद्दालाई कुनै पनि प्रकारको मिलेमतोमा कमजोर नबनाउन र ढाकछोप नगर्न समाजवादीले सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

मानव अधिकार तथा शान्ति समाजले पनि आजै उपप्रधानमन्त्री श्रेष्ठलाई पाँचबुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । समाजले नक्कली शरणार्थी प्रकरणका दोषी तथा सबै भ्रष्टाचारीलाई कारबाही गर्न र मानवअधिकारमैत्री ऐन बनाई सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउन आग्रह गरेको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्