काठमाडौं, असार १ । संसदीय सुनुवाइ समितिले आज प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सवाल जवाफ गर्ने भएको छ । आजको बैठकमा सांसदहरूले प्रश्न सोध्ने र प्रधानन्यायाधीशमा सिफारिस कार्कीले जवाफ दिने कार्यसूची रहेको छ ।
यसअघि हिजो विहिबार बसेको संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफ्ना अनुभव सुनाएका थिए । कार्कीले हिजो बैठकमा आफ्नो कार्ययोजनाहरु प्रस्तुत गरेका थिए । संसदीय सुनुवाइ विशेष समितिमा आफ्नो योजना पेश गर्दै कार्कीले बिचौलियाको रूपमा पहिचान भएका व्यक्तिहरूको गतिविधि सूक्ष्म निगरानीमा राख्ने बताएका थिए ।
कार्कीको लिखित कार्य योजनामा बिचौलिया नियन्त्रणका लागि छुट्टै संयन्त्र गठन गरी दोषीउपर कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने उल्लेख छ ।
त्यस्तै बिचौलिया नियन्त्रणको कार्यलाई थप प्रभाकारी बनाउन छुट्टै कानून र कार्य योजना निर्माण गर्ने समेत कार्कीले बताएका छन् । कार्कीले न्यायपालिका सुधारका लागि सहकार्य,समन्वय र सहकारितामा आधारित दस्ताबेज बनाउने सोच आफूले राखेको बताएका छन्।
२० पेज लामो लिखित प्रतिवद्धता पेश गर्ने क्रममा उनले अदालतमा हुनसक्ने अनियमितता र भ्रष्टाचारजन्य कार्यप्रति शुन्य सहनशीलताको नीति अवलम्वन, अनुगमन तथा सुपरीवेक्षण र निगरानीमुलक संयन्त्रको क्रियाशीलतामार्फत अनियमितता तथा भ्रष्टाचारजन्य गतिविधिको नियन्त्रण गर्न पहल गर्ने पनि जनाएका थिए ।
सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था लागू भएपछि न्याय निरुपण सहज बनेको दाबी गर्दै उनले गोलाप्रणालीबाट पेसी तोक्दा विगतको भन्दा ६० प्रतिशतले अनियमितता घटेको दाबी गरेका थिए ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ । कार्कीमाथिको संसदीय सुनुवाई शुक्रबारबाट शुरु भएको हो । कार्की विरुद्ध समितिमा २९ वटा उजुरी परेका छन् ।