काठमाडौं, १७ असार । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले केही मुठीभर सम्भ्रान्त मानिसहरूले मात्रै बैंकबाट ऋण पाउने अवस्था रहेको भन्दै यसको अन्त्य हुनु्पर्ने बताएका छन् । आज (आइतबार) प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै साहले पुँजी परिचालनबारे पनि प्रश्न गरेका छन् । राष्ट्र बैंकले काठमाडौं बाहिर कति पुँजी परिचालन गरेको हो ? भनेर पनि सोधेका छन् । उनले अहिले आम मान्छे बैंकबाट ऋण लिन नपाएर ठगिन विवश भएको टिप्पणी गरे ।
उनले अहिले मिटरब्याजको समस्या रहेको उल्लेख गर्दै अनुचित लेनदेन गर्न नहुने बताए । तर, अनुचित लेनदेनको गरेर मजबुरीको फाइदा उठाउने काम भएको भन्दै यसको लागि सरकारले गम्भीर पहल गर्नुपर्नेमा जोड दिए । उनले भने,‘मान्छे विवश भएर जानी जानी ठगिन बाध्य हुन्छ । ठगिने परिवेश कसले निर्माण गर्यो ? बैंकले पैसा दिए आम मानिस व्यक्तिकहाँ किन ठगिन जान्छ ?’
उनले आम जनता बैंकबाट ऋण नपाएपछि मिटरब्याजीहरूको मारमा परेर ठगिएको र आत्महत्या समेत गर्न बाध्य भएको कहालीलाग्दो अवस्था सुनाए । उनले भने,“देशको पूँजी सही ढंगले परिचालन नभई मुलुकको समृद्धि सम्भव छैन । मान्छे जानीजानी ठगिन बाध्य हुन्छ । ठगिने परिवेश कसले निर्माण ग¥यो ? बैंकले ऋण नदिने भएकाले मानिस जानीजानी धेरै ब्याज तिरेर व्यक्तिसँग ऋण लिन बाध्य छ । गरिबले बैंकबाट ऋण लिन पाउने अधिकार पनि छैन ? त्यसकारण गरिबलाई आत्महत्याका लागि प्रेरित गरिदिने, ठगिन विवश पारिएको छ ।”