Logo

नेकपा ब्युँताउने हल्ला, ‘एमालेलाई देखाएर कांग्रेस तर्साउने रणनीति’



काठमाडौं, असार १८ । संसदीय राजनीतिको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेससँग सरकार बनाउन सम्झौता गरेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले फेरि नेकपा ब्युँताउने हल्ला चलाएका छन्।

संसद्को सबैभन्दा ठूलो दल कांग्रेसको मुख्य सहयोगमा सरकारको नेतृत्व गरिरहेका दाहाल र सोही सरकारको सहयोगी बनेका नेपाललले केही दिनयता निरन्तर नेकपा ब्युँताउने अभिव्यक्ति सार्वजनिक गर्दै आएका हुन् ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायण विलास जोशीको ३४ औं स्मृति दिवसको अवसरमा आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा समाजवादी मोर्चा बनाएर वामपन्थी एकता गर्न लागेको दोहो¥याए। सोही कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्त्री प्रचण्डको भनाइलाई समर्थन गरे।

यसअघि पनि नेपालले माओवादीसँग नेकपा ब्युँताउने सवालमा पार्टी एकता गर्न सकिने पक्षमा रहेको बताएका थिए । माधवकुमार नेपाल, प्रचण्ड, विप्लव र उपेन्द्र यादव समेतले फेरि एकचोटी समाजवादी मोर्चा बनाएर वामपन्थीहरूलाई एकताबद्ध गर्ने पहल शुरू गरेको दाहालले सन्देश दिएका छन् ।

फेरि समाजवादी मोर्चा हुँदै नेकपातिर फर्कन पर्ने भन्दै प्रचण्डले झण्डै दुई तिहाइ भएको नेकपा एकचोटी असफल भयो भन्दैमा कम्युनिस्ट एकताको कुरा छाड्न नहुने बताए। कम्युनिस्ट विभाजन भएकोमा गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने भन्दै दाहालले समाजवादी मोर्चाबाट वामपन्थीलाई एकतावद्ध बनाउँदै नेकपाको स्वरूप दिने अध्यक्ष प्रचण्डको दाबी छ ।

तर, नेकपा (एमाले) ले समाजवादी मोर्चा बनाउने कुरा चार दलीय मोर्चाको सत्ताको भ¥याङ भएको टिप्पणी गरेको छ । समाजवादी मोर्चादेखि नेकपा बनाउने कुरा एमालेलाई देखाएर कांग्रेसलाई तर्साउने रणनीति मात्रै भएको टिप्पणी गर्दै एमालेका सचिव योगश भट्टराइले– ‘साच्चै नेकपा ब्युँताउने कुरामा लाग्नुभएको हो भने अहिले मोर्चा बनाएका चार दलले पहिला पार्टी एउटै बनाएर देखाउनु पर्छ । उहाँहरूले त्यसो गर्न सक्नुहुन्छ ? होइन भने अहिले नेकपा ब्युँताउने कुनै सम्भावना नै छैन । यो केबल सत्ताको बार्गेनिङ र एमालेलाई देखाएर कांग्रेसलाई तर्साउने रणनीति मात्रै हो ।’

चार दलीय मोर्चामा सहभागी नेताहरूलाई पार्टी एकता गर्न चुनौती दिँदै नेता भट्टराइले भने–‘एमालेको अगुवाइमा भएको पार्टी एकतापछि बनेको नेकपालाई यो अवस्थासम्म पु¥याउने नेताहरूले फेरि नेकपाको नाममा राजनीति गर्नु बेइमानी हो । उनीहरूका कुरा अब जनताले पत्याउँदैनन् ।’

समाजवादी मोर्चामा सहभागी दलका कतिपय नेताहरूले समेत समाजवादी मोर्चालाई नेकपामा परिणत गर्ने दलका शीर्ष नेताहरूको अभिव्यक्ति पार्टीको आधिकारी धारणा नभएको बताएका छन् । मोर्चालाई नै नेकपामा परिणत गर्ने भन्ने विषय सजिलो नभएको टिप्पणी गर्दै एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले समाजवादी मोर्चालाई पार्टीमा रुपान्तरण गर्ने विषयमा पार्टीभित्र कुनै आधिकारिक छलफल नभएको बताए। नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्