काठमाडौं,२० असार । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले अब पार्टीलाई अघि बढाउन युवाले जिम्मेवारी लिनुपर्नेमा जोड दिएका छन् । पूर्वमन्त्री तथा कांग्रेस नेता स्वर्गीय बलबहादुर राईको १३औँ स्मृति दिवसका अवसरमा उनको सालिकमा माल्यार्पण गर्दै नेता रिजालले अघिल्ला पुस्ताको योगदानको रक्षाका लागि युवा पुस्ता अग्रसर हुनुपर्ने बताएका हुन् ।
देशमा प्रजातन्त्र प्राप्तिका लागि स्व। राईको योगदान अतुलनीय रहेको बताउँदै उनले प्रजातन्त्रको रक्षाका लागि अहिलेको पुस्ता गम्भीर हुन जरुरी रहेको बताए । इतिहास मात्रै भजाएर अब कांग्रेस बन्दैन, नयाँ पुस्ताका युवाले जनताको मर्म बुझेर इतिहासको रक्षा गर्दै आगामी योजना तय गर्नुपर्छ । कांग्रेसभित्र रूपान्तरणको खाँचो रहेको र त्यसका लागि केन्द्रीयस्तरमा आफूहरु लागेको नेता रिजालको भनाइ थियो ।
१९ पटक देशको कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका कांग्रेस नेता राईको विसं २०६७ असार २० गते ८९ वर्षको उमेरमा निधन भएको थियो । जिल्लामा प्रायः सबैजसो पार्टीले स्व राईको योगदानको स्मरण गर्ने गर्दछन् ।