Logo

जय साहको पुस्तक ‘द कल्किस्ट मेनिफेस्टो’ विमोचन



काठमाडौं, २८ असार । जय साहको पुस्तक ‘द कल्किस्ट मेनिफेस्टो’ विमोचन गरिएको छ । आज (बुधबार) काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर उक्त पुस्तकको विमोचन गरिएको हो ।

पूर्व सभामुख दमननाथ ढुंगाना र स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहलगायतले उक्त पुस्तकको संयुक्त रुपमा विमोचन गरेका हुन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका साह हालै यही पुस्तक विमोचनको लागि नेपाल आएका हुन् ।

जय साहको खोज : नेपाललाई विश्वगुरू बनाउने सोच

मानव सभ्यताको प्रारम्भिक चरण जंगली युग अथवा ढुंगे युग रहेको देखिन्छ। मानव जीवन फिरन्ते संस्कृतिबाट कृषि अथवा खेतीपातीमा आधारित भयो। खेतीपाती कर्मका कारण मानवलाई निश्चित ठाउँ र समूहमा बस्नुपर्ने आवश्यकता आइलाग्यो। त्यसपछि परिवारको विकास भयो। परिवारको विकासपछि समाज र समाजको विकासले राष्ट्रको निर्माणलाई सहयोग गर्‍यो।

भारतीय सभ्यताअनुसार चार युगमध्ये हामी कलियुगमा बाँचिरहेका छौँ। जसमा विभिन्न समस्या, विचलन र अव्यवस्थाको उत्कर्ष देखिँदैछ।समाजलाई अधोगतिमा धकेल्ने, सामाजिक अन्तर्घुलन र सद्भावलाई विखण्डन गर्ने, अहम् तथा भेदभाव अनि बर्बरको आधार निर्माण गर्ने थुप्रै कारणमध्ये जातीय प्रथा पनि एक हो। लगभग एक लाखजति मात्रको सानो जनसंख्या र अरू धर्म नभएको समयमा भारतमा यसको उद्भव भएको देखिन्छ।

यसखाले अभ्यास संसारका लगभग सबैजसो देशबाट उन्मूलन भइसके पनि हामीकहाँ भने अझै यथावत् छ। यसले नै समाजमा द्वन्द्वको सुरुवात पनि भएको छ। यस्ता विकृति निराकरणका लागि ‘द कल्किस्ट मेनिफेस्टो : अ रोडम्याप टू इन्ड कलियुग’ पुस्तक आमपाठकका लागि एक रोमाञ्चक र गहन अध्ययन सामग्री हुन सक्छ।

संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने युवा लेखक, अध्येता, शोधार्थी, अन्वेषक जय साह लिखित पुस्तकले सामाजिक विकृति उठान गरी विश्लेषणको आधार बनाएको छ। लेखक साहका अनुसार धार्मिक विवादलगायत महिलाविरुद्ध हिंसा, पैसासँग सम्बन्धित अपराधजन्य गतिविधि र जातीय विभेदले भारतीय उपमहाद्वीपका समाजलाई धेरै गिजोलेको छ।

यस्तो समस्या निम्तिनुमा राजनीतिकदेखि सामाजिक पक्षको पनि उत्तिकै भूमिका छ। यसले समाजलाई झन् बहुपक्षीय संघर्षतिर लैजाने खतरा व्याप्त हुँदै गएको सत्यलाई अस्वीकार गर्न मिल्दैन। तसर्थ जातीय प्रथाको समूल निराकरण गर्न सुधारका जबर्जस्त कदम उठाउनुपर्छ भन्ने निष्कर्षमा लेखक पुगेका छन्।



प्रतिक्रिया दिनुहोस्