काठमाडौं, साउन ६ । प्युठानको सरुमारानी गाउँपालिकाले पछिल्ला तीन बर्षसम्म बेरुजु शुन्य बनाउन सफल भएको छ ।
देशभरका अधिकांश स्थानीय सरकारमा बेरुजु घटाउनु ठूलो चुनौतीको विषय बनिरहेका बेला सरुमारानी गाउँपालिका अहिले सबैका लागि उदाहरणीय बनेको छ । कतिपय स्थानीय जनप्रतिनिधिहरुले बेरुजु कम गराउने उपायहरुका बारेमा सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्मासँग सल्लाह समेत लिने गरेका छन् ।
उनले प्रभावकारी समन्वय गर्ने, सरोकारवालाहरुलाई जिम्मेवार बनाउने तर हस्तक्षेप नगर्ने नीतिका कारण बेरुजु शुन्य बनाउन संभव भएको अनुभव पालिका वहसमा सुनाए।
नेपाली रेडियो नेटवर्कको पालिका वहसमा उनले बजेट छुट्याउने बेलामा पर्याप्त विश्लेषण र अध्ययन गरी परिवक्व भएर मात्रै छुट्याएपछि बेरुजु स्वतः कम हुने बताए ।
पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उनले आफूले सञ्चालन गरेको छोरी पेवा बचत कार्यक्रमबाट छोरीहरुमा आत्मसम्मान र आत्मविश्वास बढेको दावी गरे ।
उनले गाउँपालिकामा ठूलो समस्याको रुपमा रहेको खानेपानीको समस्या समाधानका लागि ठूलो परियोजना ल्याएर एक घर एक धारा कार्यक्रम अन्तर्गत अहिले २६ सय घरधुरीले पानी खान पाएको जानकारी दिए ।
सार्वजनिक यातायातले विद्यार्थीहरुलाई बोक्न नमान्दा विद्यार्थीहरुले अनुनय, विनय गर्नुपर्ने दृश्यदेखेर आफूले सार्वजनिक विद्यालयहरुका लागि वसको व्यवस्था गरेको उनको भनाई छ । सामुदायिक विद्यालयमा बसको व्यवस्था गरिदिएपछि विद्यार्थी र अभिभावकहरुलाई धेरै राहत भएको उनले दाबी गरे।
किसानसँग गाउँ सरकार पनि उत्तिकै प्रभावकारी भई गाउँमा उत्पादन र आम्दानीको मात्रा बढेको अध्यक्ष विश्वकर्माले जानकारी दिए ।