काठमाडौं, २२ श्रावण । तनहुँको व्यास नगरपालिका जन्मिएका साहित्यकार त्रिभुवनचन्द्र वाग्ले समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर गरेका छन्।
मुहुनमाया वाग्ले र बालचन्द्र वाग्लेको कोखबाट जन्मिएका वाग्लेका नेपालको विकासमा दलित (समसामयिक दृष्टिकोण, २०६१), दलित स्रष्टा र प्रतिभा (चालीस व्यक्तिको जीवनी, २०६७), अकीर्ण आँखा (कवितासङ्ग्रह, २०७३), दोभानमा उभिएर (कवितासङ्ग्रह, २०७५) र अबिर (उपन्यास २०७५) प्रकाशित भएका छन्।
मधुपर्कका नायब कार्यकारी सम्पादक र छहरा साहित्यिक प्रतिष्ठान काठमाडौंका संस्थापक उपाध्यक्ष रहेका वाग्लेले करिब तीन दर्जन पुस्तक सम्पादन गरिसकेका छन् भने धेरै फुटकर रचनाहरू प्रकाशित भएका छन्।
वाग्लेले विभिन्न सम्मान तथा प्रमाणपत्रहरूपनि पाइसकेका छन्।
प्रस्तुत छ वाग्लेसँग गरिएको कुराकानीको सम्पादित अंश
-तपाईंको साहित्य लेखन कहिलेबाट सुरू भयो ?
मैले विद्यार्थीकालबाटै लेख्न थालेँ। निश्चित मिति थाहा छैन। विसं. २०३६ तिरबाट भने विद्यालयका साहित्यिक कार्यक्रममा पुरस्कत हुन थालेको हुँ। क्याम्पस–स्तरमा पनि पुरस्कृत भएको छु। औपचारिकरूपमा प्रमाणका आधारमा भन्नुपर्दा पहिलो कविता ‘प्रकृति आफै प्राकृतिक जीवन्त हुन्छ’ २०४५ चैत १८ को निर्माण साप्ताहिकमा काठमाडौंबाट प्रकाशन भएको हो। यसअघि पनि छापिएका छन् तर प्रमाण छैन।
-कसबाट र कसरी प्रभावित हुनुभयो?
प्रभावित भन्दा पनि मेरो घरको वातावरण नै साहित्यिक थियो। पिताजी बालचन्द्र वाग्ले छन्दकवि हुनुहुन्थ्यो। उहाँको कृति महाकवि देवकोटा प्रकाशित छ। दर्जनौं कृति प्रकाशनको पर्खाइमा छन्। हजुरबा टीकानिधि (टीकाराम) ले वनारसमा पढ्न बस्दा करुणातरङ्गिणी प्रकाशन गर्नुभएको थियो। त्यो पुस्तक मदन पुस्तकालयमा छ। दाजुहरू पनि लेखन–कार्यमा हुनुहुन्थ्यो। पञ्चायतकालमा पनि घरमा हामी तरुण, नेपालवाणीजस्ता पत्रिका लुकाएर पढ्थ्यौं। यिनै कारणले साहित्य सिर्जनामा लाग्न प्रेरित भएको हुन सक्छ।
-कसरी बढिरहेको छ त लेखन–कार्य?
लेखन–कार्य मैले अघि बढाउने होइन। लेखनकार्यले मलाई लेख्न लगाउने हो। कहिले होहल्लामा लेख्छु। कहिले राति ब्युँझिएर लेख्छु। कहिले हिँड्दा हिँड्दै कथाका प्लट तयार हुन्छन्। कविताका चित्र तयार हुन्छन् र पछि तिनलाई आकार दिन्छु। म पत्रकारितामा पनि आबद्ध भएकाले लेखन–कार्य मेरो दैनिकी अनि सार र सास हो। म पढ्छु, लेख्छु र सम्पादन गर्छु। अक्षरका अक्षांशमा हिंडिरहेको छु।
-वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहन्छ?
समग्रमा म लेखिसकेपछि आफू सन्तुष्ट भएपछि मात्र प्रकाशनार्थ पठाउँछु। आफ्ना कृतिले मलाई पू्रापूर सन्तुष्ट बनाएका छन्। मेरो उपन्यास अबिरमा रहेकी एक पात्र आरतीजस्ती नेपाली महिला नेपालमा जन्मेको दिन म धेरै सन्तुष्ट हुनेछु। मैले कवितामा ‘छोरी मानिससँग डराउन छाडेको दिन उसलाई जन्मदिनको शुभकामना दिन्छु’ भनेको छु। यसरी हेर्दा समाजप्रति मेरा केही आग्रह छन्। ती आग्रह पूरा भएपछि म पूर्ण सन्तुष्ट हुनेछु र कविता अर्थात् साहित्य सिर्जना गर्न बन्द गर्नेछु। त्यस्ता आग्रह पूरा नहुँदासम्म म साहित्य सिर्जनाका दृष्टिले सन्तुष्ट छु तर जुनकारण साहित्य सिर्जना गर्छु– ती कारणप्रति असन्तुष्ट छु।
-कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि?
मैले दलित समुदायका एक सय २० जनाजति विशिष्ट महानुभावको जीवनीसङ्ग्रह तयार गरेर छाप्न दिएको छु। अब त्यो आउला। कथा र कविताका एक/एक सङ्ग्रह प्रकाशनको मुडमा छु।
-साहित्य र स्रष्टापति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ र कस्तो लाग्छ?
सबै नागरिकप्रति राष्ट्रको जिम्मेवारी रहन्छ। सम्पदा, संस्कृति, संरचनाप्रति पनि जिम्मेवारी रहन्छ। यस्तो जिम्मेवारीलाई भौतिक दान र प्राप्तिमा मात्र हेर्न हुँदैन। साहित्य, पूरै वाङ्मय, कला, संस्कृतिमैत्री उदार वातावरण दिनुपर्छ राज्यले। वाक्– स्वतन्त्रता हुनुपर्छ। समग्रमा सिर्जनामैत्री वातावरण हुनुपर्छ। औषधि नपाएर छट्पटाइरहेका बालबालिकालाई सिटामोल दिन नसक्ने राज्यसँग साहित्यकार र कलाकारलाई सुविधा देऊ भन्ने पक्षमा म छैन तर मेरो कलम निर्बाध हुनुपर्छ। सिर्जनामैत्री वातावरण हुनुपर्छ।
-तपाईंको साहित्य आदर्श के हो?
मेरो साहित्यिक आदर्श समाज हो। साहित्य जतिसुकै पाताल होस् वा उचो हो ऊ समाजभन्दा एक बित्ता यताउता जान सक्दैन। समाज नै साहित्य हो। समाज नै कला हो। आदर्श पनि समाज हो। म समाज हेरेर लेख्छु। आफ्ना लागि लेख्छु तर समाज लाभान्वित होस् भन्ने चाहन्छु। म साहित्यलाई नारा र घोषणापत्र बनाइन हुँदैन भन्छु। साहित्यलाई श्रम होइन अनुभूति, आदर्श र सौन्दर्यमय सन्देश बनाउनुपर्छ भन्छु। यही मेरो साहित्यको आदर्श हो।
-वर्तमानमा नेपाली लेखकले आफ्नो दायित्व वहन गरिररहेका छन् त?
अवश्य गरेका छन्। लेखक भएका छन्। लेखेका छन्। यसलाई दायित्व वहन भन्नुपर्छ तर कवितामा नारा लेखे भने राजनीतिको दायित्व वहन गरेको ठहर्छ। साहित्यको दायित्व वहन गर्न दैवीगुण सम्पन्न हुनुपर्छ। देवताले लेखे, ऋषिमुनिले लेखे, दार्शनिकले लेखे, विद्वान्ले लेखे। त्यसरी लेख्ने जिम्मेवारी लिने हो भने अलिकति देवता अर्थात् सत्य हुनुपर्छ, अलिकति समाजहितक अर्थात् दार्शनिक हुनुपर्छ। अलि/अलि विद्वान् अर्थात् निष्पक्ष हुनपर्छ। यी सबै काम वर्तमान लेखक साहित्यकारले गरेका छन् कि छैनन्? मेरो प्रश्न र उत्तर पनि यही हो।
-साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ?
साहित्यको तुलना गुणस्तरबाट हुन सक्दैन–परिवेशबाट हुन्छ। जस्तै फूलको सौन्दर्य। तिहारमा सयपत्री, दसैंमा पाती–जमरा, मङ्सिरमा धानको कुनियोमा राख्न लालुपाते र कविता लेख्न लालीगुराँसको महत्त्व बढी हुन्छ। साहित्य पनि यस्तै हो। राणाकालमा पिँजडाको सुगा उत्तम कविता थियो। त्यो परिवेशले बनाएको हो। आजको खुला परिवेशमा त्यस्ता कविता स्तरहीन हुन्छन्। गौरी र मुनामदन पनि यस्तै हुन्। त्यसैले साहित्यको भन्दा परिवेशको तुलना गरेर साहित्यको मूल्याङ्कन गर्नुपर्छ। जहाँसम्म लेखन प्रवृत्तिको कुरा छ– आज टापटिपे संस्कार छ। पठन र लेखन दुवै संस्कृति खुम्चिएको छ। टुक्का पढेर महाकाव्यको अर्थ लगाउने पाठक र पार्ट–टाइममा लेख्ने लेखक दुवै विगतका भन्दा भिन्न परिवेश हुन्।
-कस्तो साहित्य लेखिनुपर्छ ?
जनता बोल्ने। पाठकले आफ्नै कथा वा अनुभव रहेछ भनेर अनुभूत गर्ने साहित्य लेखिनुपर्छ। सौन्दर्यले पूर्ण सन्देशमूलक सुन्दर अभिव्यक्ति लेखिनुपर्छ। सौन्दर्यको नाममा लहरा र पहराको वर्णनमात्र होइन– चेतनाको नाममा राजनीतिक दलका घोषणापत्र र नाराजस्ता साहित्य लेखिनुभएन। यी दुईबीच समन्वय गरेर रङ्गीन बुट्टेदार साहित्य नै लेखिनुपर्छ।
-लेखनमा केले प्रेरणा दिन्छ ?
लेखनलाई समाज, घटना र परिवेशले प्रेरणा दिन्छ। शिथिल आमाले बच्चालाई दूध चुसाएको घटनाले साहित्य लेख्ने प्रेरणा दिन्छ। गौंथलीले चुच्चोले माटो बोकेर घर (गुँड) बनाउन गरेको प्रयत्नले साहित्य लेख्न प्रेरणा दिन्छ। जगत्ले नै साहित्य लेख्ने प्रेरणा दिन्छ।
-लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
मलाई छुने। पाठकलाई घटनासँग जोड्ने। समय र समाजलाई प्रतिनिधित्व गर्ने घटना वा दृश्यलाई साहित्य लेखनको विषयवस्तु बनाउने गर्छु।
-सफल स्रष्टाका आवश्यक गुण के/के हुन् ?
अध्ययन र अनुभूति।
-साहित्यका कुन विधाका पाठक बढी छन् भन्ने लाग्छ ?
निश्चित रूपमा कविता। छोटा रचना जस्तै गीत, लघुकथा र हाइकु बढी पढिन्छ। पछिल्ला समय गैर आख्यानमूलक अनुभूतिजन्य लेख पनि निकै पढिएको पाउँछु।
-सिर्जनामा कल्पनाशीलता र सजीवता कुन चाहिन्छ ?
दुवै। साहित्य अनुभवमात्र होइन– कल्पना चाहिन्छ तर कोरा कल्पना र तिलस्मी वर्णनभन्दा जनजीवनको छाप बोक्ने सजीवता पनि चाहिन्छ।
-नयाँ लेखकलाई के भन्न चाहनुहुन्छ ?
पढ्न, गुन्न र अभिव्यक्त गर्न।
-केही स्रष्टा किन दलको झण्डामुनि ओत लाग्छन् ?
आफूमा विश्वास नभएर। साहित्यको व्यापार त्यो पनि नाङ्ले व्यापार गर्न दलहरूको साँगुरो झण्डामा ओत लाग्छन्।