काठमाडौं, २ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल यही असोज ५ गते चीन भ्रमणमा जाने भएका छन् । यतिवेला उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा छन् । उनी न्युयोर्कबाटै सिधै बेईजिङ् ओर्लने कार्यतालिका छ । प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको रूपमा आफ्नो तेस्रो कार्यकालमा पहिलो विदेश भ्रमण भारत गरेका थिए ।
प्रधानमन्त्री दाहालले तेस्रो कार्यकाल सुरु गरेकै दिन आफ्नो पहिलो विदेश भ्रमण भारत हुने घोषणा गरेका थिए । आफूले घोषणा गरेबमोजिम दाहाल पहिलो विदेश भ्रमणको रुपमा भारत गएका थिए । प्रधानमन्त्री दाहाल अमेरिकामा जारी युएनको महासभामा भाग लिएर सिधै चीन आउदैछन् । प्रधानमन्त्री दाहालको भ्रमणको सम्पूृर्ण तयारी भैसकेको बेईजिङ्स्थित् नेपाली दूतावासले जनाएको छ ।
प्रधानमन्त्रीको रुपमा दाहालको यो तेस्रो चीन भ्रमण हो । यसअघि उनी सन् २००८ मा चीन गएका थिए । पहिलोपटक प्रधानमन्त्री भएका दाहालले त्यतिवेला पहिलो विदेश भ्रमण चीन नै गरेका थिए । त्यसपछि उनी सन् २०१७ मा गएका थिए । अहिले सन् २०२३ मा उनी त्यसतर्फ जाँदैछन् । प्रधानमन्त्री दाहालको चीन भ्रमणको सन्दर्भमा नेपाल सरकारले विभिन्न क्षेत्रमा सहकार्य गर्नसकिने भन्दै सम्झौताको तयारीसमेत गरेको चर्चा छ । तर, नेपालका स्थापित कुटनीतिज्ञहरुले भने चीनसँग यसपटक नेपालले नयाँ सम्झौता गर्नु भन्दापनि यसअघि भएका पूराना सम्झौताहरु कार्यान्वयनमा जोड दिनुपर्ने तर्क गरेका छन् ।
खासगरी चिनियाँ राष्ट्रपनि सि जिनफिङ नेपाल भ्रमणमा आएका बेला भएका सम्झौता कार्यान्वयनमा नेपाल सरकारले कुरा उठाउनुपर्ने उनीहरुको मत छ । चिनियाँ राष्ट्रपति तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा २०७६ साल असोज २५ गते नेपाल आएका थिए । सो भ्रमणको बेलामा चिनियाँ राष्ट्रपतिले नेपाललाई सन् २०२० देखि सन् २०२२ सम्मका लागि ३.५ अर्ब चिनियाँ युआन (५६ अर्ब १७ करोड नेपाली रुपैयाँ) सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए । सो सहयोग प्रतिबद्धता चिनियाँ राष्ट्रपतिले राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित द्विपक्षीय उच्चस्तरीय वार्ताको क्रममा घोषणा गरेका थिए । तर, आज चार वर्ष बित्न लाग्दापनि चिनियाँ पक्षबाट त्यस सहयोग घोषणाको कार्यान्वयन भएको छैन् ।
उनको सम्मानमा आयोजित रात्रिभोजमा उनले भनेका थिए–‘प्रायः भन्ने गर्दछु, हामीले बनाएका योजनाहरुलाई पूरा गरेरै छोडौं । हामीले चीनमा पनि यस्तै गरेका छौं । भर्खर हामीले जनवादी गणतन्त्र चीनको स्थापना भएको ७० वर्ष बनाएका छौं । हाम्रो उद्देश्य छ, दुई शतवाषिर्कीका दुई लक्ष । यसको पहिलो लक्ष हामी आगामी वर्षमा साकार तुल्याउने छौं । दोस्रो लक्ष चाहिँ ३० वर्षपछि । तर, हाम्रो काम गर्ने मार्ग स्पष्ट छ, त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।’
उनले नेपाल र चीनको संयुक्त प्रयासद्वारा द्वीपक्षीय सम्बन्धको नयाँ भविश्य पनि निर्माण गर्ने घोषणा गरेका थिए । धेरैले उनको उक्त सार्वजनिक घोषणालाई लिएर खुशी व्यक्त गरेका थिए । तर, चिनियाँ राष्ट्रपतिको तहबाट आएको प्रतिबद्धता नै कार्यान्वयन नभएपछि अरु सम्झौता गरेर नेपाललाई के लाभ हुन्छ ? भनेर यतिवेला नेपालमा प्रश्न उठाउन थालिएको छ ।
त्यसैले प्रधानमन्त्री दाहालको यसपटकको चीन भ्रमणमा नयाँ सम्झौताहरु गर्न नहुने कुटनीतिज्ञहरुको भनाई छ । बरिष्ठ कुटनीतिज्ञ प्रा.डा. लोकराज बरालले पनि चीनसँग पूरानो सम्झौता कार्यान्वयनमा प्रधानमन्त्री दाहालले जोड दिनुपर्ने धारणा राखेका छन् । रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा बरालले यसअघि भएका सम्झौताहरु कार्यान्वयनमा नेपालले जोड दिनुपर्ने सुझाव दिएका हुन् ।
File Photo/ReportersNepal