Logo

रास्वपाले बोलायो संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक



काठमाडौं, ९ असोज । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आह्वान गरेको छ । बैठक बुधबार अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको हो ।

संविधान दिवसको दिन राष्ट्रपतिबाट दिइएको जेल सजाय छुट र जिल्लामा परिचालित नेताहरुको रिपोर्टबारे छलफल गर्न रास्वपाले बैठक बोलाएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ६७० जनाको बाँकी जेल सजाय छुट दिने निर्णय गरेका थिए । यो निर्णयबाट जन्मकैदको सजायँ पाएका नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकाल लगायतले उन्मुक्ति पाएका थिए । जसको चौतर्फी आलोचना भइरहेको छ । रास्वपाले उक्त विषयमा पनि बैठकमा छलफल हुने जनाएको छ ।

यसैगरी जनताको आवाज सुन्न भन्दै १९ जिल्लामा खटिएका नेताहरुको ब्रिफिङबारे पनि छलफल हुने छ । रास्वपाले ३ असोजदेखि ७ असोजसम्म १९ नेतालाई १९ जिल्लामा खटाएको थियो । रास्वपा सभापति रवि लामिछाने रोल्पा खटिएका थिए , भने उपसभापति डोलप्रसाद अर्याल पर्सा पुगेका थिए।



प्रतिक्रिया दिनुहोस्