काठमाडौं, कार्तिक २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भारतबाट नेपाल भित्रिदै आएको चिनी, चामल लगायतका अत्यावश्यक वस्तुको सहज आयातबारे राजदूत श्रीवास्तवमार्फत भारत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयका अनुसार भारतको निर्यात प्रतिबन्धको नीतिका कारण नेपाली बजारमा आपूर्ति प्रभावित हुन नदिन दैनिक उपभोग्य वस्तुको सहज आयातका बिषयमा छलफल भएको जनाएको छ ।
भेटमा राजदूत श्रीवास्तवले नेपाल–भारतबीचको सम्बन्धलाई अझै मजबुत बनाउदै सहज आयातका लागि भारत सहमत रहेकोबारे सकारात्मक जवाफ दिएका छन् ।
गत साउन ४ गते भारतको वाणिज्य तथा वैदेशिक व्यापार विभागले एक सूचना जारी गर्दै बासमति बाहेक मोटा, जिरामसिनो लगायतका चामल निर्यातमा रोक लगाएको थियो । भारतीय पक्षले नेपालका लागि उक्त प्रतिबन्ध लागू नहुने बताएपनि चाँडपर्वको मुखमा नेपाली बजारमा असर देखिएकाले समाधानका लागि प्रधानमन्त्रीले राजदूतमार्फत भारत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
भारत सरकारको उक्त घोषणापछि नेपाली बजारमा चालमको मूल्य बढ्नुका साथै बजारमा चिनीको समेत अभाव भएको जनगुनासोपछि प्रधानमन्त्री प्रचण्डले भारतीय राजदूतलाई बोलाएर यो विषयमा ध्यानाकर्षण गराएका हुन् । भेटवार्ता पछि प्रधानमन्त्री प्रचण्डले बजारमा उपभोग्य बस्तुको महंगी र कृतिम अभावलाई नियन्त्रण गर्न कडाईका साथ अनुगमन गर्न सम्बद्व निकायलाई निर्देशन समेत दिएका छन् । जनतालाई राहातको अनुभुति हुनेगरी सरकारका काम कारबाही अगाडी बढाउन उनले निर्देशन दिएका हुन् ।