काठमाडौँ, १२ कात्तिक । उच्चस्तरीय भेटवार्ताका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस सिंहदरबार पुगेका छन् । उनले आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेट्ने भएका छन् । सिंहदरबार छिरेलगत्तै उनले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटघाट गरेका हुन् ।
परराष्ट्र मन्त्रालय पुगेका गुटेरेसलाई सहसचिव सेवा लम्सालले स्वागत गरिन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आज भेटवार्ताका लागि तय भएको पूर्व निर्धारित कार्यक्रम भने पर्सि मङ्गलबारका लागि सरेको जनाइएको छ ।
त्यस्तै, गुटेरेसले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ । उनले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्ने कार्यसूचि छ । नेपालको चार दिने औपचारिक भ्रमणका लागि गुटेरेस आजै नेपाल आएका हुन् ।