Logo

ज्ञानेन्द्र शाहलाई राजा घोषणा गर्न माग गर्दै शाही युवा शक्ति नेपालले कार्तिक १८ गते विशाल मोटरसाईकल ¥याली आयोजना गर्ने



काठमाडौं, १४ कात्तिक । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा घोषणा गर्न दबाब दिने उद्देश्यले विशाल मोटरसाइकल ¥याली गर्ने भएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति नेपालले गणतन्त्रको खारेजी र ज्ञानेन्द्रलाई तेस्रोपटक राजा घोषणा गर्नका लागि जनदवाब सिर्जना गर्न कात्तिक १८ गते विशाल मोटरसाईकल ¥याली आयोजना गर्न लागिएको जानकारी गराएको हो । उक्त विशाल मोटरसाईकल ¥याली मध्यान्ह साढे १२ बजे विजी महल अगाडिबाट सुरु हुने पनि बताइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै शाही युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले जनताले आफूहरुलाई राजा कहिले आउँछन् भनेर विशेष चासोका साथ सोधिरहेको बताए । राजा, राजसंस्था र हिन्दुराष्ट्रका लागि जनता स्वतस्फूर्त सडकमा आउन आवश्यक रहेको उनले बताए ।

अहिलेका युवाहरु देश बर्वाद भइसक्दापनि बरु झोला बोकेर विदेश जान तयार हुने र दलहरुले देश सिध्याए भनेर गुनासो गरिरहने गरेको बताउँदै उनले उनीहरुलाई राजाको पक्षमा सडकमा आएर योगदान गर्न आह्वान गरे । आगामी कात्तिक १८ गते हुने विशाल ¥यालीमा राष्ट्रिय झण्डासहित स्वतस्फूर्त सडकमा आउन उनले सबैमाझ आह्वान गरे । उनले उक्त ¥यालीमा टोल–टोलबाट सहभागी हुन आग्रह गरे ।

अध्यक्ष खड्काले राजाको आशिर्वाद लिएर दसैंको टिका लगाएका मान्छेहरु मात्रै सडकमा आएको खण्डमा गणतन्त्रको चाँडै अन्त्य हुने दाबी गरे । उनले आफ्नो श्वाँस रहेसम्म देशमा गणतन्त्र खारेज गराएरै छाड्ने अठोट लिएको सुनाए । लाखौंलाख जनता अहिलेपनि गणतन्त्रको विपक्षमा रहेका उनको भनाई छ । उनले देशमा रहेका विभिन्न समस्या समाधानका लागि राजा र राजसंस्था पुनर्स्थापना एकमात्रै विकल्प रहेको बताए ।

शाही युवा शक्ति नेपालका केन्द्रीय उपाध्यक्ष प्रेम बैदारले देशमा गणगन्त्रवादीहरुले फट्याईँ गरेको अरोप लगाए । उनले अब जनताले सडक संघर्षबाट गणतन्त्रवादीलाई परास्त्र गर्नुपर्ने धारणा राखे ।

‘यो गणतन्त्रवादीहरुले फट्याईँ गरेको रहेछ । यिनीहरु देशद्रोही र दलाल रहेछन् भनेर सम्पूर्ण नेपालीहरुले बुझिसकेको हुँदा अब तपाईँहरुले यिनीहरुलाई जहिलेसम्म शासन चलाउन दिनुहुन्छ, तबसम्म नेपाली र नेपाल आमाको आशु खेप्नुपर्ने हुन्छ,’– उनले भने ।

वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले नेपाल धर्म निरपेक्ष हुनैनसक्ने बताए । देशलाई धर्मनिरपेक्ष बनाउनेहरुले हिन्दुहरुको दसैंको टिका र जमरा लगाउन लाज मान्नुपर्ने उनको टिप्पणी छ ।

जनताले निर्मल निवासमा गएर राजासँग नेपाली जनताको नासो खोजिरहेको उनले बताए । राजालाई जनताले नेपाली जनताको नासो जिम्मा लिन नेपाली जनताले आग्रह गरिरहेको उनले बताए । पृथ्वीनारायण शाहको शालिक ढालेर, एमसीसी पारित गरेर र गुटेरेसको चाकडी गरेर देश धेरै लामो समयसम्म नेपाल नरहने उनको टिप्पणी छ ।

कार्यक्रममा शाही युवा शक्ति नेपालका केन्द्रीयहरु सदस्य नयन बोगटी, रोहन शाक्य, शाही युवा शक्ति नेपालका समर्थक रामेश्वर थापा, सन्तोष (सिलवाल) राजावादी लगायतले राजा, राजसंस्था र हिन्दु राज्य पुनर्स्थापना र गणतन्त्र खारेजीको पक्षमा आफ्ना धारणाहरु राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्