काठमाडौं, १७ कात्तिक । हिजोआज गाउँ–सहर–बजारमा बिहानको समयमा मर्निङ वाक गर्नेहरू बढिरहेका छन् । कोही एक्लै त कोही कुकुर डोर्याउँदै पसिना निकाल्दै दौडिरहेका हुन्छन् ।
दाङको राप्ती गाउँपालिकाले बाटोघाटोमा पसिना पोखिरहेका यस्तै युवाहरूलाई लक्षित गर्दै बाटोमा होइन माटोमा पसिना बगाउँm कार्यक्रम ल्याएको छ । कार्यक्रम अन्तर्गत अहिलेसम्म सामुदायिक वनमा आँप र अम्बाको १५०० बिरुवा रोपिसकेको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए । नेपाली रेडियो नेटवर्कको पालिका बहसका लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने, ‘ बिहान हामी जम्मा हुन्छौं, फलफूलका बिरुवा रोप्छौं, गोडमेल गर्छौं, मलजल गर्छौं । बर्खामा बिग्रेका बाटो र चौंतारी मर्मत गर्छौ । अन्तिममा हाजिर पनि गर्छौं ।’
अध्यक्ष विष्टले गाउँमा श्रम संस्कृतिको विकास गर्न स्वैच्छिक रूपमा कार्यक्रम सञ्चालन गरिएको बताए । उनले भने,विकास निर्माणमा राज्यको मात्र मुख ताक्ने हाम्रो बानी छ । जनश्रमदानमार्फत पनि काम गर्न सकिन्छ ।झ जनश्रमदानमा सहभागी युवाहरूले ल्याउने योजनालाई गाउँपालिकाले सघाउने पनि उनले बताए ।