काठमाडौं, २० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका जनसम्पर्क सल्लाहकार रामदीप आचार्यले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका निम्ति राहतको अभाव नभई वितरणमा समस्या रहेको बताएका छन् ।
‘सुर्खेत, नेपालगन्ज, काठमाडौंबाट राहत आइरहेको छ । राहतको अभाव छैन । तर भौगोलिक कठिनाइ र ढुवानीका साधनको समस्या छ । सजिलो बाटो भएको ठाउँमा तुरुन्तै राहत पाएको र अन्यले पाउन केही ढिलाइ भएको सत्य हो । तर कुनै लापरबाही भएको छैन । हामी वितरणमा सहजीकरण गर्छौं,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
तीन दिनभित्र सबै भूकम्पपीडितलाई पाल पुर् याउने प्रतिबद्धता पनि आचार्यले जनाए । उनले थपे, ‘त्रिपाल, खाद्यान्न र न्याना लत्ताकपडा सबै ठाउँमा पुर् याउने प्रयास तीव्र छ । सरकारले एकद्वार प्राणालीबाट राहत वितरण गर्ने भनेको छ । यो राम्रो कुरा हो । तर राज्यका संयन्त्रबाट मात्र पर्याप्त काम हुन सकेको छैन । त्यसलाई अलिकति खुकुलो बनाउनुपर्ने पनि अवस्था छ । हामी तीन दिनभित्र कम्तीमा त्रिपाल वितरण हुने गरी लागेका छौं ।’
जाजरकोटमा रहेका सल्लाहकार आचार्यले राहत वितरणमा तीनै तहका सरकार मिलेर काम गरिरहेको पनि बताए । साथै उनले भूकम्पपीडितलाई तत्काल अस्थायी टहरा, पाल बनाएर राख्ने र बर्खा लाग्नेबित्तिकै न्यानो घरभित्र बस्ने व्यवस्था मिलाइने बताए ।