Logo

राजतन्त्र फर्काउने कुरा दुई-चार सय व्यक्तिको हल्ला मात्रै हो : महेश बस्नेत



काठमाडौं, २२ कात्तिक । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले कतिपय व्यक्ति जाजरकोट भूकम्पलाई सेलेब्रिटी बन्ने अवसर बनाउन लागिपरेको आक्षेप लगाएका छन् ।
‘जाजरकोटका भूकम्पपीडितलाई राहतका नाममा कतिपयले हेलिकप्टर लाने, धुलो उडाउने र तमासा मच्चाउने काम गरिरहेका छन् । हिजोको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले एकद्वार प्रणालीबाट सर्वदलीय सहमतिमा राहत वितरण गर्छु भन्नुभएको छ । यो सकारात्मक कुरा हो । एमालेलाई यस्तो संवेदनशील घटनामा राजनीति गर्न आवश्यक छैन,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
हिजोको सर्वदलीय बैठकले सहमतिको वातावरण बनेको पनि बस्नेतले बताए । उनले भने, ‘गणतन्त्रको विरोध गर्दै धार्मिक, जातीय र सामाजिक सद्भाव खलबल्याउने, सोसल मिडियाको दुरुपयोग गर्दै व्यक्ति, राज्य र संस्थाको चरित्रहत्या गर्ने गतिविधि गरिरहेका छन् । यसको नियमन गर्नुपर्ने आवश्यकता छ । यसमा पाँच दलका नाममा मिडिया र सोसल मिडियामा लगेर उडाउने र हाँस्ने गरिएको छ । हामीले यस्ता गतिविधि रोक्नुपर्छ भनेका छौं ।’
नेता बस्नेतले राष्ट्रिय प्रजातन्त्र पार्टीको एउटा पंक्तिले दुर्गा प्रसाईहरुलाई उचालेर राजतन्त्र फर्काउने सपना देखिरहेको आरोप पनि लगाए । उनले भने, ‘दुर्गा प्रसाईको कुरा सुनेर जनताले के धारणा बनाउलान् ? उनलाई मनको बाघले खाएको खायै छ । दुर्गा प्रसाईं जस्ता बहुलाहा र मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको राजतन्त्र फर्काउने गफ कसले पत्याउने र सुन्ने ? यो भनेको विक्रम टेम्पो चढेर दिल्लीको यात्राजस्तै हो । एप्पल र एन्ड्रोइडको जमानामा हिजोको टुकटुके मोबाइल कसरी चल्छ ? उनलाई ज्ञानेन्द्रको पनि सपोर्ट छैन । ज्ञानेन्द्रका मानिसहरुसँग पनि मेरो कुरा भइरहेको छ । राप्रपाको एक पंक्तिले दुर्गा प्रसाईंलाई उचालिरहेको हामीलाई थाहा छ । यो काल्पनिक कुरा हो । यो दुई-चार सय व्यक्तिको हल्ला मात्र हो ।’
पैसा दिएर मान्छे जम्मा गर्ने, बैंग्लोर र दिल्लीका मान्छे ल्याउँछु भन्ने, मोदी, सी चिनफिङ, पुटिन अनि कतार र युएईका राजा र राजकुमारसँग सम्पर्क हु भनेर गफ लगाउने, पचासौं करोडको चेक बाउन्स गराउने, १५ सय अर्बको लगानी छ भन्ने तर सात अर्बको लोन नतिर्ने, व्यवस्था र नेताहरुविरुद्ध १४, १५ सय टिकटक बनाउने दुर्गा प्रसाईंका सारा कर्तुत राष्ट्रिय युवा संघले बाहिर ल्याउने र सजायको भागिदार बनाउने दाबी पनि उनले गरे । मुलुकमा व्याप्त महँगी, भ्रष्टाचार, अनियमितता र अराजकताविरुद्ध युवा संघले मंसिर ७ गते विशाल आन्दोलन गर्ने पनि बस्नेतले बताए ।
अर्को प्रसंगमा पूर्वमन्त्री बस्नेतले नेपाललाई भारतसँगको सम्बन्ध सुमधुर नबनाई सुख नभएको बताए । उनले भने, ‘नेपाल र भारत सम्बन्ध ऐतिहासिक र पुरानो सम्बन्ध हो । यो कूटनीतिक मात्र होइन औपचारिक र अनौपचारिक दुवै खालको छ । आफ्नो देशको मान, सान र प्रतिष्ठालाई अक्षुण राखेर भारतसँगको सम्बन्ध अझ सुमधुर नबनाई सुखै छैन ।’



प्रतिक्रिया दिनुहोस्