काठमाडौं, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुँदा सबैभन्दा धेरै आफ्नो दललाई दुखेको टिप्पणी गरेका छन् । उनले अहिलेको व्यवस्थाविरुद्ध प्रहार गर्न खोज्नेलाई मंसिर ७ गते देखाईदिने चेतावनी दिएका छन् ।
आज (आइतबार) भक्तपुर जिल्ला कमिटीको विस्तारित भेलालाई सम्बोधन गर्दै नेता बस्तेले यस्तो चेतावनी दिएका हुन् । उनले भने,‘अहिलेको व्यवस्थामाथि प्रहार हुँदा एमाले मौन बस्न सक्दैन् । हामी व्यक्तिको चरित्र हत्या र हिंसा गर्नेतिर जाँदैनौं। हामी शान्तिपूर्ण संघर्षको माध्यमबाट समाज रुपान्तरणको सिद्धान्तमा अगाडि बढेको छौं । मदन भण्डारीको सिद्धान्त जनताको बहुदलीय जनवादलाई आत्मसात् गरेर ७ गते हामी देखाइदिन्छौं। युवा संघ नेपाल के हो ? अनेरास्ववियु के हो ? एमालेको जनसंगठन के हो ? एमाले के हो ? भन्ने कुरा हामी देखाउँछौं।’
उनले मंसिर ७ गतेको आफूहरुको कार्यक्रम कसैको कार्यक्रमसँग जुधाउन राखिएको कार्यक्रम नभएको स्पष्ट पारेका छन् । उनले मंसिर ७ गतेको युवा संघको कार्यक्रम दुई महिनाअगावै तय भएको पनि जानकारी दिए । अहिले अर्थतन्त्रक धराशयी बनेको पनि उनको दाबी छ ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई चूनौति दिने तत्वहरु र मरेर गएको राजतन्त्रलाई बचाउन सकिन्छ भन्ने तत्वहरुलाई आपराधिक, अराजक र लफंगाहरुको संज्ञा दिए । उनले भने,‘यी तत्वहरु अहिले जुन ढंगले एमालेको विरुद्धमा आईरहेका छन्, त्यसका विरुद्ध एमालेले सशक्त ढंगले प्रतिरोध गर्नुपर्छ भन्ने निश्कर्षमा हामी पुगेका छौं ।