Logo

मानव अधिकार आयोगले भन्यो- युवा संघको प्रदर्शन शान्तिपूर्ण, प्रसाईंको आन्दोलनमा झडप भयो



काठमाडौं,७ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा आज काठमाडौंमा आयोजित प्रदर्शनको अनुगमन गरेको छ ।

बिहीबार एक विज्ञप्तिमार्फत आयोगले चारवटा टोलीले उपत्यकाको दिनभर अनुगमन गरेको जनाएको छ ।

अनुगमनको क्रममा तीनकुनेमा आयोजित युवा संघ नेपालको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको देखिएको आयोगको निष्कर्ष छ भने बल्खुमा भएको कार्यक्रममा झडप पनि भएको आयोगले जनाएको छ ।

‘तीनकुनेमा आयोजित युवा संघ नेपालको प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न भएको पाइएको छ । बल्खुमा भएको प्रदर्शनमा युवा संघ र प्रसाईं पक्षका समूह बिच झडप तथा ढुंगा र ईंट्टा प्रहार भएको, प्रसाईं पक्षको समूहबाट प्रहरीको सुरक्षा घेरा तोडेर कालीमाटीतर्फ जान खोज्दा प्रहरीसँग झडप भएको, स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र पानीका फोहोरा प्रहार गरेको सो क्रममा केही मोटरसाइकल, स्कुटरमा सामान्य क्षति पुगेको तथा केही व्यक्ति घाइते भएको अनुगमनबाट पाइएको छ’ । आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रदर्शनका कारण प्रदर्शन क्षेत्रका विद्यालयहरूमा पठनपाठन अवरुद्ध रहेको र उक्त क्षेत्रका पसलहरू बन्द हुँदा निर्वाधरूपमा पेसा व्यवसाय गर्ने अधिकारमा असर परेको आयोगले जनाएको छ ।

सर्वसाधारणले स्वतन्त्र र सुरक्षितरूपमा आवतजावत गर्न नपाएकाले यसबाट नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र बालबालिकाको शिक्षाको अधिकारमा असर परेको आयोगको अनुगमनबाट देखिएको छ ।

आयोगको अनुगमन टोली रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा पुगेर प्रहरीका उच्च पदस्थ अधिकारीहरूसँग सुरक्षा अवस्थाबारे जानकारी लिनुका साथै सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशनसमेत दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्