काठमाडौं, १७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू राजनीतिमा आउनुपरेको कारण सुनाएका छन् । राजनीतिक कार्यक्रम लिएर मलेसिया पुगेका सभापति लामिछानेले आफू राजनीतिमा आउनुको मुख्य कारण विदेशमा रहेका नेपाली पनि भएको उल्लेख गरेका छन् । उनले संक्षिप्त सम्बोधन गरेका थिए ।
यस्तो छ उनको सम्बोधन :
अवसर र रोजगारको लागि विदेश जानु पर्ने बाध्यता, जीविकोपार्जनकै लागि विभिन्न मुलुकमा दुख(कष्ट सहनुपर्ने परिस्थिति र स्वाभिमानमै चोट लाग्ने गरी झुक्नु पर्ने हाम्रो नियति परिवर्तन हुनुको सट्टा बढिरहेको छ।
म राजनीतिमा आउनुको एउटा मुख्य कारण, विदेशमा रहेका नेपाली पनि हुन्। विदेशमा रहँदा तपाईंकै समस्या समाधानका लागि सार्थक पहल गर्न सकूँ, देशमा बस्न सक्ने वातावरण बनाउँदै अघि बढूँ र तपाईंको विश्वासमा खरो उत्रन सकूँ भन्ने हो।
मलेसिया, कतार र बेलायतमा रहनुभएका नेपाली दाजुभाइ, दिदीबहिनीहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्न, उहाँहरूको साथ सहयोग र शुभेच्छाका लागि धन्यवाद दिने कार्यक्रमअन्तर्गत अहिले म मलेसियामा छु ।