Logo

कोइराला र गगन समूहको भेलामा महासमिती, संसद र पार्टीभित्र देखिएका समस्या बारे छलफल हुन्छ : नेता यादव



काठमाडौं, मंसिर २७ । नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले शेखर कोइराला र महामन्त्री गगन थपा पक्षले आज राजधानीमा गर्न लागेको वृहत बैठकमा महासमिती बैठक, संसद बैठक र पार्टीभित्र देखिएका समस्याहरुलगायतका बारेमा छलफल हुने बताएका छन् ।

केन्द्रिय कार्यसमितिको बैठक नसक्दा कांग्रेसले महासमितिको बैठक तेस्रो पटक सार्ने तयारी भईरहेको बताउँदै उनले आज दिउँसो १ बजे बत्तिसपुतलीमा हुनलागेको भेलामा राष्ट्रिय सभाको निर्वाचन, सरकारको काम कारवाहीमाथी छलफल हुने जानकारी दिए । पछिल्लो समय पार्टी भित्र देखिएका समस्या समाधानको विषय, राजिनीतिक अवस्थाको विषय, पार्टी संगठनको विषय र महासमिति बैठक सार्ने विषयमा परामर्स गर्न आजको भेला बस्न लागेको उनको भनाई छ ।

उनले भने, “आजको बैठकमा शुक्रबार बस्ने केन्द्रीय सम्पादनको बैठकमा कसरी प्रस्तुत हुने लगायत बारेमा छलफल हुने छ । आजको भेलालाई अन्यथाको रुपमा नलिई राष्ट,« पार्टी र संगठनलाई मजबुत बनाउने प्रयासको रुपमा लिनुपर्छ ।’
पार्टी भित्र अनुशासन हिनताको बढिरहेको जनाउँदै उनले पार्टीलाई संस्थागत रुपमा अघि बढ्न नसकेको बताए । पार्टीलाई विधि विधान अनुसार अघि बढाएर अन्तरघातको निराकरण गर्न आवश्यक रहेको उनले बताए ।

आन्तरिक विवाद र कलहहरुलाई मेटाउँदै मनमुटावको अन्त गरेर मुलुकलाई समृद्विको मार्गमा लैजादै रोजगारी सृजना, स्वास्थ सेवाको पहुँच, गरिवी अन्मुलन र भ्रष्ट्राचार नियन्त्रण गर्न जिम्मेवार पार्टीको रुपमा समेत अघि बढ्न आवश्यक रहेको उनको भनाई छ । शेखर कोइराला र गगन थापा समूहबीच मनमुटाव नरहेको बताउँदै नेता यादवले पार्टी जनताको समस्या समाधानको लागि अघि बढ्नु पर्ने समेत उनले बताए ।

यस अघि नेता कोइरालाले मंगलबार बैठक आह्वान गरेका थिए । महामन्त्री गगनकुमार थापालाई पनि समझदारीमा ल्याउनेबारे मंगलबार नेता अर्जुननरसिंह केसी र नेता कोइरालाले छलफल भएपछि बैठक आजका लागि सारिएको थियो

पार्टीको १४औं महाधिवेशनमा शेखर प्यानलबाट उम्मेदवारी दिएर महामन्त्रीमा विजयी भएको गगन र शेखरबीच अहिले सम्बन्ध चिसिएको छ । पछिल्लो समय गगनले गुट निर्माण गरेर आफैं नेतृत्व लिन खोजेको धेरैको अनुमान छ । गगन र शेखरबीचको तिक्तता संसदीय दलको नेताका लागि भएको निर्वाचनदेखि नै हो । गगन आफैंले संसदीय दलको नेतामा दाबी गरेर चुनाव लडेपछि शेखरले आफू निकट सांसदहरुको भोट पनि पार्टी सभापति शेरबहादुर देउवालाई दिन लगाएका थिए ।

त्यस्तै पछिल्ला घटना र पार्टीका निर्णयमा पनि गगन–शेखरबीच खुलेर छलफल हुन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्मा कांग्रेसबाट मन्त्री पठाउँदा इतरपक्षबाट शेखरले एकलौटी गरेको र गगनको कुरै नसुनेको बताइएको छ । साथै, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विद्रोहका लागि शेखरले उकासेको गगन समूहको आरोप छ ।

त्यस्तै, गगन थापा नआउने निश्चित भएपछि आजका लागि बोलाइएको बैठक सारिएको हो । गगन आज पूर्वनिर्धारित कार्यक्रम अनुसार बारामा आयोजित एक कार्यक्रममा सहभागी हुनेछन् । भोलि बस्ने बैठकका लागि भने गगनलाई खबर गरिएको छ । तर, गगनले बैठकमा सहभागी हुने वा नहुने केही प्रतिक्रिया दिएका छैनन् । उनी निकट स्रोतका अनुसार गगन उक्त बैठकमा सहभागी नहुने सम्भावना प्रवल रहेको छ ।

त्यस्तै, पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई भने बैठकको निमन्त्रणा गरिएको छैन । यसअघि इतरसमूहले पटक–पटक निमन्त्रणा गर्दा पनि उनी बैठकमा सहभागी हुन नचाहेकाले यस पटक नबोलाइएको बताइएको छ । महामन्त्री शर्माले यसअघि इतरसमूहले बोलाएको बैठक अस्वीकार गर्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस्