Logo

अबिलम्ब शान्ति प्रक्रिया निश्कर्षमा पुर्याउन सरकारलाई वाईसीएल अध्यक्ष सेर्पालीको ध्यानाकार्षण



काठमाडौं, ३० मंसिर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष सुवोध सेर्पालीले अविलम्ब शान्ति प्रक्रियाका काम निश्कर्षमा पुर्याउन सरकारको ध्यानाकार्षण गराएका छन् । माओवादी जनयुद्धसँग सम्बन्धित शान्ति प्रक्रियाका कामहरु दिनदिनै पेचिलो बन्दै गएको भन्दै उनले यस विषयमा माओवादी नेता, माओवादी घटकका नेताहरु, माओवादीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरु, राष्ट्रिय सभा सदस्यहरु सबै एकै स्वरमा बोल्नु पर्ने आवश्यकता औंल्याएका छन् ।

उनले गम्भीरताका साथ शान्ति प्रक्रियाका काम अहिले टुंगोमा नपुर्याए पछि पछुताउनुको विकल्प नहुनेसमेत बताएका छन् ।

वाईसीएल अध्यक्ष सेर्पालीले सामाजिक सञ्जालमार्फत भनेका छन्ः

‘प्रिय माओवादी कमरेडहरू ! समय अत्यन्तै निर्मम छ । हामी सबै गम्भीर बनेर जनयुद्धको कैयौं मुद्दाहरूसँग अन्तरसम्बन्धित रहेको शान्ति प्रक्रियाका बाँकी कामहरू टुंगो लगाउनु पर्नेछ । स्मरण रहोस्– अहिलेको सरकार निर्माणसँगै हाम्रो संगठन वाईसीएल नेपाल केन्द्रीय कार्यालयको तर्फबाट सम्माननीय प्रधानमन्त्री ज्युलाई ज्ञापनपत्रसमेत बुझाएका थियौं । परिस्थितिले यो बिषय दिनानुदिन गम्भीर बन्दै गइरहेको छ । तसर्थ, यस बिषयमा माओवादी घटक सबै दलहरू सरकारको नेतृत्व गरिरहेको हाम्रो पार्टी माओवादी केन्द्र त्यसका नेताहरू मा. मन्त्रीहरू, प्रतिनिधिसभा र राष्ट्रिय सभाका माननीयहरू एउटै स्वरमा बोल्न जरुरी भएको छ । हाम्रो एउटै लक्ष्य अविलम्ब शान्ती प्रक्रिया टुङ्गो लगाउन अपरिहार्य भइसकेको छ । आज हाम्रो ध्यान अन्तै केन्द्रीत हुँदैगर्दा भोलि पछुतो मानेर केही हुनेवाला छैन । पछिल्लो घटनाक्रमहरूले शान्ती प्रक्रियाको मुद्दा थप पेचिलो बनाउदै गएको अनुभूती भएको छ । तसर्थ, शान्ति प्रक्रिया तत्काल टुङ्गो लगाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्