Logo

पार्टी वरीयतामा दोस्रो स्थानको विवाद केन्द्रिय कार्यसमितिको बैठकबाट टुङग्याउनुपर्छ : प्रदीप पौडेल



काठमाडौं, पुस ८ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कांग्रेसमा दोस्रो वरीयताको कुरालाई केन्द्रिय कार्यसमितीको बैठकबाट टुङग्याउनु पर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले यो वरिष्ठ नेता भनेर विधानमै उल्लेख नभएको र परिभाषित विषय पनि नभएकाले अभ्यासमा गर्दै आइरहेको विषय भएकाले पार्टीले केन्द्रिय कार्यसमितीको बैठकबाट टुङग्याउन सक्नुपर्ने कुरामा जोड दिए।

कांग्रेसमा उपसभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाबीच पार्टी वरीयतामा दोस्रो स्थान कसले लिने भन्ने विवाद चर्किएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मर्यादाक्रममा सभापति शेरबहादुर देउवापछि उपसभापति खड्का रहेका छन्।

१४ औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका कोइरालाले ४० प्रतिशत मत पाएसँगै ‘वरिष्ठ’ नेता दिनुपर्ने माग संस्थापनइतर पक्षबाट उठ्दै आएको छ । उनले पार्टीमा ‘वरिष्ठ’ नेताको हैसियत पाएमा मात्रै सभापतिपछिको दोस्रो स्थानको मर्यादा पाउन्छन्। अहिले उनी पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीपछिको पहिलो नम्बरमा छन् । जसअनुसार कोइरालाको स्थान मर्यादाक्रममा २५ औं नम्बरमा छ ।

कोइरालालाई वरिष्ठ नेतासहितको दोस्रो स्थान दिने कि नदिने भनेर आन्तरिक तहमा बढिरहेको विवाद अहिले प्रदेश सम्मेलनहरूमा समेत देखिन थालेको छ ।

संस्थापनइतर पक्षले नेतृत्व गरेको प्रदेशमा उपसभापति खड्कालाई र इतरपक्षले नेतृत्व गरेको प्रदेशमा वरिष्ठ नेताको हैसियत दिएर कोइरालालाई सभापतिपछिको विशिष्ट अतिथिमा बोलाउने गरिएको छ । सभापति देउवापछि दोस्रो वरीयता नपाउने अवस्था भएमा खड्का र कोइराला दुवैले कार्यक्रम नै बहिष्कार गर्ने गरेका छन् ।

यस्तै अर्को प्रसंगमा नेता पौडेलले अहिलेको सरकारले राम्रो काम गर्न नसकेको आरोप लगाएका छन्। पछिल्लो समय जति पनि काण्डहरु आइरहेका छन् ती सबैको गरिहराईमा पुगेर अनुसन्धान गरेर सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिदै उनले भ्रष्टाचार अन्त्य हुने गरेर काम गर्न आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्