Logo

मन्त्री फिर्ता बोलाउने तयारी छैन, अहिलेकै सरकारले जनाताका असन्तुष्टि र निराशाको उपाय खोज्नुपर्छ : कांग्रेस सह-महामन्त्री पाण्डे



काठमाडौं पुस १५ । नेपाली कांग्रेसका सह-महामन्त्री बद्री पाण्डेले सरकारले प्रभावकारीता बढाउनुपर्ने र असन्तुष्टि तथा निराशालाई चिर्नेगरि यसको उपाय खोज्नुपर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले वर्तमान गठबन्धनको सरकारलाई नै निरन्तरता दिदै सरकारले प्रभावकारीता बढाउनुपर्नेमा जोड दिनुपर्ने बताउनुभएको ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको एक वर्षे उपलब्धिले जनाताका असन्तुष्टि र निराशालाई चिर्न नसकेकाले सरकारले यसको उपाय खोज्नुपर्नेमा उनको जोड छ । अहिलेको सत्ता गठबन्धनलाई नै निरन्तर अगाडि बढाउने पार्टीको पनि निश्कर्ष रहेको बताउँदै उनले पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने विषयमा कुनै पनि छलफल र कुरा नभएको बताए ।

कांग्रेसले हिजो सम्पन्न केन्द्रीय कार्य समिति बैठकका निर्णय आज सार्वजनिक गर्दै छ । पुस १२ गतेदेखि सुरु भई तीन दिन चलेको बैठकका निर्णय आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने पाण्डेले बताए।

पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा हुनेछ । पाण्डेका अनुसार बैठकमा सरकारका काम कारबाही, मन्त्रीहरुको कार्यसम्पादन, राष्ट्रियसभा सदस्य निर्वाचनलगायतका विषयमा छलफल भएको थियो ।

बैठकले पार्टीको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने उम्मेदवारको मापदण्ड निर्धारण गर्ने, महासमितिको बैठक परिमार्जित मिति अनुमोदन गर्ने र समुदायमा कांग्रेस अभियानलाई आगामी माघ ७ गतेदेखि २२ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको गरेको छ ।

केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रियसभामा अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्ति, समुदाय तथा भूगोललाई प्राथमिकता दिने गरी उम्मेदवारको मापदण्ड बनाउने निर्णय गरेको छ ।

बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रभावकारी काम गर्न नसकेको, सरकारले जनतालाई सुशासनको प्रत्याभूति हुने खालका सेवा प्रदान गर्न नसकेको टिप्पणी भएको नेताहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्