काठमाडौं, पुस १६ । नेपाली कांग्रेसले आज ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ । २०३३ साल पुस १६ गते कांग्रेसका संस्थापक बीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्किएको सम्झनामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइने गरिएको छ ।
आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए ।
मेलमिलापको नीति बोकेर नेपाल आएका बीपीसहितका कांग्रेस नेतालाई तत्कालीन पञ्चायत व्यवस्था र राजासमेतले पक्रेर सुन्दरीजल बन्दीगृहमा लगेर राखेका थिए । कोइरालाले भारतबाट राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको त्यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।
कांग्रेसको मूल नीति नै बीपीले देखेको समाज हो । तर सत्तामा पुग्दा उसले आफ्नो आदर्श बिर्सने गरेको आरोप कांग्रेसका हरेक नेतृत्वलाई लाग्दै आएको छ । तर व्यवहार त्यसको विपरीत छ । मेलमिलाप दिवसको अवसमा कांग्रेसले सोमबार ७७ जिल्लामा आमसभा, गोष्ठी, र्याली, कोणसभा लगायतका कार्यक्रम गर्दैछ ।
नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा मेलमिलाप दिवसका अवसरमा कार्यक्रम आयोजना हुनेछ।