काठमाडौं, पुस २४ । रोजगार अनुमति प्रणाली इपिएस मार्फत भाषा परीक्षाका लागि आवेदन दिने सबैलाई परीक्षा गराउन दक्षिण कोरिया तयार भएको छ ।
इपिएसअन्तरगत जहाज निर्माणको भाषा परीक्षामा सहभागी भएकाहरु दक्षिण कोरियाको उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा पनि सहभागी हुन पाउने भएका हुन् ।
बैदेशिक रोजगार बिभाग र कोरियाको मानव संशाधन बिभाग (एचआरडी) का अधिकारीहरुबीचको बैठकमा यसअघि पानी जहाज निर्माण क्षेत्रको भाषा परीक्षामा अनुतीर्ण भएकाहरुलाई पनि अब हुने उत्पादनमुलक क्षेत्रको परीक्षामा सहभागी गराउने सहमति भएको हो ।
अब यो परीक्षा तीन चरणमा हुनेछ । परीक्षा माघको ६ गतेबाट सुरु हुनेछ । योसँगै इपीएसको परीक्षासम्बन्धी विवाद अब टुङ्गिएको छ ।
परीक्षामा सहभागी हुन यसवर्ष एक लाख ६४ हजार जनाको आवेदन परेको छ । पहिलो चरणमा ४७ हजार, दोस्रोमा ८० हजार र तेस्रो चरणमा ३७ हजार जनालाई उत्पादनमूलकतर्फ परीक्षा दिन लगाइनेछ ।
यसअघि पानीजहाज निर्माणको परीक्षामा सहभागी भएका ३२ हजार जनाले उत्पादन क्षेत्रका लागि खुलाइएको भाषा परीक्षामा आवेदन दिन पाएका थिएनन् ।