काठमाडौं, १६ माघ । भारतीय जनता पार्टी प्रभावशाली नेता तथा नेपाल मामिलाका जानकार राम माधवले नेपाल र भारत दुवै देशले सहकार्य गर्दै समृद्धितर्फ अघि बढ्नुपर्ने बताएका छन् । उनले दुई देशबीचको सम्बन्ध सबै हिसाबले प्रगाढ रहेको बताए । दुई देशबीच सम्बन्धमा उतारचढाव आएपनि वा तलमाथि भएपनि सदियौंदेखिएको सभ्यता, संस्कृति र धार्मिक पक्षले गर्दा कहिल्यै यी दुई देशलाई एकअर्कामा टाढा राख्न नसक्ने पनि उनको भनाई थियो ।
निश्चलनाथ पाण्डे नेतृत्वको सेन्टर फर एसियन स्टडिज र भारतको इन्डिया फाउन्डेसनद्वारा आज (मंगलबार) काठमाडौंमा आयोजित “नेपाल-भारत सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउने” विषयक एकदिने सेमिनारमा सहभागी हुन नेपाल आएका राममाधवले दुई देशले अब आर्थिक समृद्धिको लागि सहकार्य गर्नुपर्नेमा जोड दिएका हुन् । उनले दुई देशबीचका सभ्यता, संस्कृति र जनस्तरको सम्बन्ध नै नेपाल–भारत सम्बन्धको मुख्य पक्ष भएको उल्लेख गरे ।
सेन्टर फर एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डेले नेपालले भारतको समृद्धिबाट लाभ लिनुपर्ने बताए । उनले भारत विश्वकै तेस्रो ठूलो अर्थतन्त्र हुन लागेको भन्दै भारत अमेरिका, युरोप र अन्य मुलुकमा बढी केन्द्रित हुँदै गर्दा नेपालले भारतको ध्यान तान्न सक्नुपर्ने धारणा राखे ।