Logo

एमाले महासचिव पोख्रेलले गरे ओलीको प्रशंसा, देश विकासको नायक भएको दाबी



काठमाडौं, १७ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री हुँदा अध्यक्ष केपी शर्मा ओलीले विकासको रेखा कोर्ने काम गरेको र उनी राष्ट्र निर्माण र विकासको नायकका रूपमा स्थापित भएको दाबी गरेका छन् । अध्यक्ष ओलीले संसदीय राजनीतिक अभ्यासका क्रममा संसदमा गरेका सम्वोधनहरूको सङ्ग्रह ‘संसदमा केपी शर्मा ओली’ ग्रन्थको हिजो (मंगलबार) काठमाडौंमा विमोचन गर्दै उनले यस्तो बताएका हुन् ।

एउटा नेता नायकका रूपमा कसरी बदलिन्छ भन्ने कुरा केपी ओलीको जीवनीबाट सिक्न सकिने उनको भनाई छ । नेपालको लोकतन्त्र कस्ता कस्ता घटनाबाट गुज्रियो भन्ने कुरा पनि केपी ओलीको अभिव्यक्ति र जीवनीबाट बुझिने महासचिव पोखरेलले बताए । सर्वसत्तावाद विरुद्धको सङ्घर्षमा खरो रूपमा उत्रिएको कारण केपी ओली नेताहरूको नेता बनेको उनको भनाई छ ।

ओलीले आफ्नो राजनीतिक जीवनमा कानुनी राज्य, मानवअधिकार, सुशासन र शान्ति सुरक्षाको पक्षमा दिएको अभिव्यक्तिले नेपालको लोकतन्त्रलाई कसरी अघि बढाउने भन्ने बाटो देखाएको महासचिव पोखरेलले स्मरण गराए । सरकारको नीति, कार्यक्रम र बजेट कस्तो हुनुपर्दछ भन्ने कुरा उहाँले संसद्मा स्पष्ट रूपमा राख्ने गर्नुभएको र आफू जिम्मेवारीमा पुग्दा आफ्ना दृष्टिकोण कार्यान्वयनमा अति इमान्दार देखिनुभएको उनले स्पष्ट पारे ।

सङ्क्रमणकालीन न्यायको सन्दर्भमा पनि अध्यक्ष ओली आफ्नो अडानमा स्पष्ट रहेको पनि उनले सुनाए । लिपुलेक, लिम्पियाधुरा नेपालको हो भनेर संसद्मा सो विषय भित्र्याउने पहिलो नेता केपी ओली नै भएको र आफ्नै प्रधानमन्त्री कालमा सो भूमि समेटिएको नक्सा प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन गराउनुभएको उनले स्मरण गराए ।

देशको मिचिएको भूमिको रक्षा तथा परराष्ट्र नीतिमा अध्यक्ष ओली स्पष्ट रहेको महासचिव पोखरेलको भनाइ छ । माओवादीलाई हिंसाको राजनीतिबाट रूपान्तरण गरी शान्ति प्रक्रियामा ल्याउने काममा ओलीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उनले स्पष्ट पारे । तर अहिले पनि माओवादी रूपान्तरण नभएको र त्यो उनीहरूको कमजोरी रहेको भनाइ महासचिव पोखरेलले राखे ।

नेपाली समाजलाई विभाजित गर्ने प्रवृत्ति विरुद्धको लडाइँमा पनि केपी ओली खरो रूपमा उत्रिनु भएको उनले बताए । हिमाल, पहाड, तराई, कोही छैन पराई भन्ने मूल मन्त्रका साथ केपी ओलीले देशलाई जोड्ने काम गरेको पोख्रेलको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्