काठमाडौं, ७ फागुन । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० का अवसरमा मूलसमारोह समितिले आज नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन्। समारोहमा राष्ट्रिय गान प्रस्तुति, झण्डोत्तलन, ज्ञात–अज्ञात सहिदप्रति मौनधारण गरिएको छ ।
सो अवसरमा नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० अङ्कित ब्यानर प्रदर्शन गरी पुष्पवृष्टि एवं बेलुनहरू उडाइएको छ। साथै शान्तिका प्रतीक परेवा उडाइएको थियो भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलद्वारा ‘मार्चपास’ र ‘ब्याण्ड’ प्रस्तुत गरिएको छ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसदहरू, संवैधानिक निकायका प्रमुख र पदाधिकारी, नेपाल सरकारका उच्चाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, समाजका विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको छ । समारोहमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रजातन्त्र दिवसको अवसरमा गृह मन्त्रालयले सैनिक मञ्च टुँडीखेलमा आयोजना गरेको समारोहमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । सैनिक मञ्च टुँडीखेलमा जारी मूल समारोहमा समाचार संकलनका लागि पुगेका पत्रकारलाई प्रवेशमा रोक लगाइएको हो ।
पत्रकारलाई प्रवेशमा रोक लगाएपछि पत्रकारहरुले क्यामेरा डाउन गरेर सांकेतिक विरोध गरेका छन् । सूचना विभागले उपलब्ध गराएको प्रेस कार्ड देखाउँदा पनि प्रवेश दिइएको छैन । आयोजना गरेको कार्यक्रममा फोटो तथा भिडियो खिच्न नदिएपछि पत्रकारहरूले गेट बाहिर क्यामरा डाउन गरेका छन्।