महेन्द्रनगर, २ चैत्र । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने अभिभारा एमालेको काँधमा रहेको बताएका छन् । नेकपा (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले देश बचाउने, सुदृढ र विकसित बनाउने अभिभारा एमालेको काँधमा रहेको बताए ।
अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको विकास निर्माणले तिव्रता पाउने विश्वास व्यक्त गर्दै सुदूरपश्चिमलाई शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्नेमा जोड दिए । ओलीले आफू प्रधानमन्त्री भएको समयमा सुरु गरेका सुख्खा बन्दरगाह, छेला औद्योगिक क्षेत्रको निर्माण लगायत सुदूरपश्चिमका सबै कामहरूले अब निरन्तरता पाउने बताए । उनले अधिवेशनबाट पार्टीको जिल्ला नेतृत्व सक्षम र सबल नेतृत्व चयन गर्न सुझाव दिए ।
ओलीले नयाँ सत्ता समीकरण आफूहरूले बनाएको स्पष्ट गर्दै अहिलेको सरकार चीनले बनायो भनेर भ्रम छर्नेहरूलाई नेपालीको अपमान नगर्न चेतावनी दिएका छन् । नेपाली कांग्रेसले यो समीकरणलाई चीनले बनाएको भनेर प्रचारबाजी गरिरहेको भन्दै उनले त्यस्तो झुटो प्रचार नगर्न आग्रह गरे । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचपटक प्रधानमन्त्री भए पनि एउटा पनि उल्लेख गर्नलायक काम नगरेको बताए ।
वर्तमान सरकारमा एमाले सम्मिलित रहेको र यस सरकारले जनतालाई डेलिभरी दिने विश्वास दिलाउँदै अध्यक्ष ओलीले वर्तमान सरकारले मिटर ब्याजपीडित र आरती साहका परिवारसँग सहमति गरेर समस्या समाधानको सुरुवात गरेको स्पष्ट पारे । उनले मुलुकको परिस्थिति फेरिएको भन्दै नयाँ परिस्थितिमा आत्मविश्वास र दृढताका साथ अघि बढ्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।