Logo

एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि, २५ सय नेता-कार्यकर्ता सहभागी हुँदै



काठमाडौं, वैशाख ८ । आजदेखि नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक बस्दै छ । ललितपुरस्थित गोदावरीस्थित सनराइज हलमा आज र भोलि गरि दुई दिन चल्ने बैठकमा एमालेका झण्डै २५ सय नेता कार्यकर्ता सहभागी हुने जनाइएको छ।

पार्टी कार्यालय च्यासलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव शङ्कर पोखरेलले परिषद् बैठकको औचित्यबारे जानकारी गराउँदै समग्र कामको समीक्षा र आगामी कामको दिशानिर्देश गर्ने बताएका छन्।

आगामी दिनमा पार्टीलाई विकसित एमालेका रूपमा अघि बढाउन स्पष्ट मार्गनिर्देश गर्नका साथै राष्ट्रिय राजनीतिलाई पनि सही दिशामा अघि बढाउन परिषद् बैठक महत्वपूर्ण हुने एमालेले विश्वास लिएको जनाएको छ।

बैठकमा बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने तय भएको छ। केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन्। ती सबै दस्ताबेज सहभागीहरूले अध्ययन गर्न पाउनेछन्।

बैठकमा एमालेले २०८० मा चलाएको मिसन ग्रासरुट र झुलाघाट चिवाभन्ज्याङ संकल्पयात्राको पनि समीक्षा हुने जनाएको छ । बैठकमा २०८१ साललाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्य योजना प्रस्तुत गरिने छ ।साथै, एमालेले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५औँ वर्ष (हीरक महोत्सव)का उपलक्ष्यमा यही वैशाख १० गते एक विशेष समारोहको आयोजनासमेत गरेको छ ।

समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । हीरक महोत्सवमा एक जना विशिष्ट व्यक्तिलाई गणतन्त्र गौरव सम्मान प्रदान गरिने एमालेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्