Logo

कम्युनिष्ट दलहरुमा खिया लागेको माधव नेपालको दाबी, गणतन्त्र समाप्त पार्ने षड्यन्त्र हुनथालेको टिप्पणी



चितवन, १९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने शक्तिको चलखेल हुनथालेको टिप्पणी गरेका छन् । पार्टीको चितवनको १०औँ जिल्ला अधिवेशनको आज (बुधबार) उद्घाटन गर्दै उनले संविधान र गणतन्त्रको रक्षाका लागि यसको पक्षमा रहेका शक्तिहरु एक हुनुपर्ने बताएका हुन् ।

उनले भने,“संविधान र गणतन्त्रको विरोधी शक्तिसँग हातेमालो गर्न सकिँदैन ।” अहिले पार्टी गठबन्धनमा रहेको भए पनि चैन भने नरहेको भन्दै उनले आक्रोश पोखे उनले भने,“केही विमति छन् । कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैन ।” देशलाई समृद्धिको यात्रामा लैजान पहिला जनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उनले बताए।

समाज परिवर्तन र बेथिति अन्त्यका लागि पार्टीका कार्यकर्ता लाग्नुपर्ने उनले बताए । उनले नेकपा एमालेप्रति लक्षित गर्दै नेतृत्व तह सुध्रिएर आए आफूहरु एकताको पक्षमा रहेको बताए । वामपन्थी शक्ति एकताबद्ध गर्नका लागि समाजवादी मोर्चा गठन गरिएको बताउँदै उनले विचार, सोच मिल्ने शक्तिसँग एकताबद्ध बनाउन सकिने बताए । एकताका लागि आत्मसमीक्षा, खुल्लापन र इमान्दारिता आवश्यक पर्ने उनले बताए।

नेपालका कम्युनिष्ट दलमा अहिले खिया लागेको उनको दाबी छ । उनले भने,“कम्युनिष्ट दलहरुमा लागेको खिया हटाउन हामी आएका हौँ ।” अहिलेको राजनीतिमा कम्युनिष्ट आन्दोलनको विषयमा बहस हुन आवश्यक रहेको उनले बताए । file photo



प्रतिक्रिया दिनुहोस्