काठमाडौं, वैशाख २१ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भैरहवा पुगेका छन्। नवलपरासी जिल्ला अधिवेशनमा सहभागी हुन गौतम बुद्ध विमानस्थल भैरहवा पुगेका उनलाई विमानस्थलका महाप्रवन्धक प्रतावबावु तिवारीले विमानस्थलको एप्रोन एरियामै पुगेर स्वागत गरेका छन् । अध्यक्ष ओली पार्टीको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्न भैरवहाबाट हुलाकी सडक हुँदै परासी जाने कार्यक्रम छ। त्यहाँ दिउँसो एक बजे अधिवेशन उद्घाटन गरेर ओली आजै ३ बजे काठमाडौं फर्किने छन् ।
संविधान जारी भएपछि नवलपरासी जिल्लालाई दुई भागमा बाँडिएको थियो। बर्दघाट सुस्ता पश्चिमको भूगोल समेटेर बनेको परासीमा आज अधिवेशन सुरु हुन लागेको हो। जिल्ला अधिवेशनका लागि ४२६ जना प्रतिनिधि चयन भएका छ। उनीहरुले १०५ सदस्यीय जिल्ला कमिटी गठन गर्नेछ। अधिवेशनलाई सकेसम्म सर्वसम्मत बनाउने कोसिश नेतृत्वले गरिरहेको छ ।
अध्यक्षका लागि वर्तमान अध्यक्ष दिपेन्द्र अधिकारी, उपाध्यक्ष डोलारज भण्डारी, सचिव धिरज बस्याल, राष्ट्रियसभाका पूर्व सदस्य रामलखन हरिजन, नेता श्याम बस्यालले दाबी गरेका छन्।