काठमाडौं, वैशाख ३१ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । हिजो बसेको प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिको बैठकले आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्ने र त्यसलाई निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको थियो ।
प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका छन् । उनले कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८१ वैशाख २७ गतेको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१)बमोजिम उक्त आह्वान गरेका हुन् ।
यही वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले सोही दिन साँझ पद तथा गोपनीयताको शपथ लिएका थिए । उनलाई नेकपा (एमाले) का ३९, नेकपा (माओवादी केन्द्र) का १३ सहित ५२ प्रदेशसभा सदस्यको साथ र समर्थन रहेको छ ।
आजको बैठकमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम तथा कोशी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठकको कार्य सूची रहेको छ । ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमत पाउन ४७ सदस्यको समर्थन चाहिन्छ ।