Logo

मिटरब्याजीको चङ्गुलमा उर्मिलाः सात लाख ऋण लिएकोमा ३७ लाखको फर्जी कागज बनाइएको आरोप



काठमाडौं, ३१ वैशाख । चितवन जिल्ला, भरतपुर महानगरपालिका–५ कि उर्मिला विश्वकर्माले आफू मिटरव्याजीको चङ्गुलमा फसेको बताएकी छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो खुलासा गरेकी हुन् । उर्मिलाका अनुसार रसु गजमेरसँग उनले पटक–पटक गरेर सात लाख रुपैयाँ ऋण लिएकी थिईन् ।

उक्त ऋण लिँदा आफूले ३ कट्ठा जग्गा धितो बन्धक राखेको उर्मिलाले बताईन् । साँवा ब्याज तिरेपछि उक्त जग्गा फिर्ता गरिदिने शर्तमा जग्गा धितो राखिएको भएपनि पटक–पटक गरेर १९ लाख ५० हजार पैसा दिइसक्दा पनि जग्गा फिर्ता नभएको उनको भनाइ छ । रसुलगायतका समूहले उल्टै आफ्ना छोराछोरीमाथि थ्रेट देखाएर फर्जी कागज खडा गरेर सही छाप गर्न लगाएको उनको भनाइ छ ।

उर्मिलाका अनुसार सात लाख ऋण लिएकोमा १९ लाख ५० हजार तिरिसक्दा पनि ३७ लाखको ऋण लिएको फर्जी कागज रसुको हातमा छ । त्यस्तै, धितोवापत राखेको ३ कट्ठा जग्गा पनि उनीहरुकै नियन्त्रणमा छ ।

साथै, उक्त कागज देखाएर रसुले आफूलाई पटक–पटक मानसिक यातना दिएको उनले बताईन् । ‘रसु गजमेरसँग मैले पटक–पटक गरी सात लाख रुपैयाँ लिएको हो । मैले साढे १९ लाख रुपैयाँ बुझाइसकेँ । मैले पटक–पटक मलाई जग्गा देऊ भन्दा दिँदै नदिने, मलाई धुर्की र धम्की लगाउने, मलाई बच्चाहरुलाई धेरै टर्चर दिएर मैले कागजमा सही छाप गरेँ । यही कागजको साँवा र व्याज भनेर माग्छन्,’– उनले भनिन् ।

उर्मिलाकी छोरी एजिला विश्वकर्माले सोही कारोबारको विषयलाई लिएर आफूमाथि खतरा रहेको बताईन् । आफ्नी आमालाई रसुलगातका समूहले ‘तेरी छोरी भरे घर नआउली’ भन्दै धाक धम्की दिने गरेको बताईन् । खतरा बढ्दै गएपछि आफूलाई आमाले कलेज पठाउन नमानेको उनको भनाइ छ । ‘म पढ्न जाने बेलामा तेरो छोरी भरे घर नआउला भनेर डर धम्की देखाएपछि ममीले कलेज जान पनि नदिने अवस्था छ,’– उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्