Logo

संसदीय दलको बैठक अघि बालुवाटार पुगे गगन र रमेश, हट्ला त संसद्को अवरोध?



काठमाडौं, जेठ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न नेपाली कांग्रेसका नेता बालुवाटार पुगेका छन् । छलफलका लागि महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकलगायत कांग्रेस नेताहरु बालुवाटार पुगेका हुन्।

सहकारीको बचत अपचलनमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति नबनेसम्म संघका दुवै सदनको कामकारबाही अघि बढ्न नदिने अडान यथावत् राखेको कांग्रेस संसदीय दलको बैठक बस्नु अघि प्रधानमन्त्रीसँग छलफलमा जुटेको हो । कांग्रेसले नयाँ बानेश्वरस्थित संघीय संसद्‌ भवनको ल्होत्से हलमा बस्ने आजको बैठकबाट थप रणनीति तय गर्ने तयारी गरेपछि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरुलाई छलफलका लागि बालुवाटर बोलाएका हुन् ।

सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । यता नेपाली कांग्रेसले भने सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबने सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुन नदिने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले संसदको गतिरोध अन्त्यका लागि कांग्रेसका नेताहरुसँग छलफल अघि बढाएका हुन्।

आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री प्रचण्ड छन्।सरकारको नीति तथा कार्यक्रम संघीय प्रस्तुत गर्न संघीय संसदका दुवै सदनको संयुक्त बैठक आज अपरान्ह दिउँसो ३ बजे बस्दैछ। उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ।

त्यो बैठकमा कसरी प्रस्तुत हुने भनेर तय गर्न कांग्रेस संसदीय दलको बैठक आज बिहान ९ बजे बस्दैछ। त्यसअघि कांग्रेस नेताहरु प्रधानमन्त्री प्रचण्डसँग संवादमा बसेका हुन्।



प्रतिक्रिया दिनुहोस्