काठमाडौं, जेठ १८ । बागमती प्रदेश सरकारले पत्रकार राजकुमार सिग्देललाई प्रदेश युवा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । गणतन्त्र दिवसको अवसरमा हेटौँडामा आयोजित एक विशेष समारोहका बिच रातोपाटी डटकमका समाचार सम्पादक सिग्देललाई सो पुरस्कार प्रदान गरिएको हो ।
बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले २५ हजार रुपैयाँ राशिको उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् । विगत ११ वर्षयता रातोपाटीमा कार्यरत नुवाकोटका सिग्देल पछिल्लो २ वर्षदेखि समाचार सम्पादकको भूमिकामा छन् ।
समारोहमा अन्य ६ पत्रकारलाई पनि पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरुमा चितवनका ईश्वर जोशी, मकवानपुरकी सरिता दाहाल, पत्रकार महासंघ बागमतीका अध्यक्ष शिव देवकोटा (नुवाकोट), सिन्धुलीका बुद्ध नेपाली, रसुवाका हरि गजुरेल र दोलखाकी सृजना गोले रहेका छन् । कार्यक्रममा सहिद परिवारका ६५ जनालाई पनि सम्मान गरिएको थियो भने चलचित्र लेखन, निर्माण, निर्देशक ८ जना सम्मान गरिएको थियो ।