Logo

गाजाको अवस्था दयनीय छ : यएनआरडब्लु



न्यूयोर्क, ११ भदौ । प्यालेस्टीनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) का अधिकारीहरूले गाजाको अवस्था “विनाशकारी“ भएको जनाएका छन् । यसै क्रममा उनीहरुले र विगत दुई हप्तामा गाजामा जारी थप निकासी आदेशको बिचमा मानिसहरूलाई सीमित गरिएको ठाउँ “धेरै सानो“ र साँगुरो भएको पनि दोहोर्याएका छन् ।

न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा गाजाका युएनआरडब्लुएका प्रवक्ता लुइस वाटर्रिज र युएनआरडब्लुएका प्रथम उपक्षेत्र निर्देशक विसम रोजले भिडियो मार्फत पत्रकारलाई यस्तो जानकारी दिएका हुन् ।

यसै क्रममा वाटर्रिजले हरेक दिन लाखौँ मानिसहरू सुरक्षित आश्रयको खोजीमा एक ठाउँबाट अर्को ठाउँमा सर्न बाध्य भइरहेको बताए ।

उनका अनुसार निकासी आदेश पछि गाजामा मानिसहरुले आफ्नो सामान सार्दै छन् ,अधिकांश मानिसहरूलाई जबरजस्ती सारिएको छ भने विस्थापीतका लागि सवारी साधनको सीमित पहुँच छ र उनीहरुलाई कहाँ जाने भन्ने पनि थाहा छैन ।

उनले खान युनूस र अल–मवासीमा इजरायलले घोषणा गरेको मानवीय क्षेत्रमा, बलौटे जमिनमा भीडभाड रहेको बताउदै सुरक्षित क्षेत्र भनिएको यस क्षेत्रमा पनि सुरक्षित नरहेकोले मानिसलाई ज्यान जोगाउन सुरक्षित ठाउँ नभएको बताएका छन् ।

युएनआरडब्लुएका प्रथम उपक्षेत्र निर्देशकले हालैको निकासी आदेशले इजरायलको मानवीय क्षेत्रलाई सम्पूर्ण गाजा पट्टीको ११ प्रतिशतमा मात्र कायम गरेको बताए ।

जहाँ मानिसहरू भेला भई बाँच्नका लागि प्रयास गर्ने बताउदै उनीहरु कयौँ बाध्यताको बीच “असम्भव विकल्पहरू“ सामना गर्ने गरेको जानकारी उनले दिए ।

उनले यस क्षेत्रमा पोलियो फैलिन सक्ने चेतावनी दिँदै कुपोषित बालबालिकामा विनाशकारी स्वास्थ्य क्षेत्र, दुषित पानी र सरसफाइको अवस्थाले उनीहरूको प्रतिरक्षा प्रणाली कमजोर भएको उल्लेख गरे।

अधिकारीले पोलियो खोप अभियानलाई सफल बनाउनका लागि निर्देशन दिइरहेको र अर्को शनिबार देखि अभियान सुरु हुने बताए ।रासस



प्रतिक्रिया दिनुहोस्