Logo

स्थानीय तहदेखि संघसम्म हाक्काहाक्की भ्रष्टाचार भैरहेको छ : डा. महतो



काठमाडौं, १३ भदौ । जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले आज तल (स्थानीय तह) देखि माथिल्लो तहसम्म हाक्काहाक्की भ्रष्टाचार भैरहेको दाबी गरेका छन् । उनले कर्मचारीको मनोबल बढाउनको लागि पनि समयको मागअनुसार तलब तथा सुविधाको प्रवन्ध गरिनुपर्ने धारणा राखेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने क्रममा उनले सरकारी सेवा लिने सबै तहमा विचौलियाहरुको दबदबा रहेको दाबी गरे । उनले भने,‘स्थानीय तहदेखि संघसम्म हाक्काहाक्की भ्रष्टाचार भैरहेको छ । तलदेखि माथिल्लो निकायसम्म विचौलियाको दबदबा छ ।’

उनले अहिलेपनि आफूहरुजस्तो सांसदलाई पनि कुनै काम गराउनुपरे पैसा दिनुपर्ने बाध्यता रहेको सुनाए । उनले भने,‘मैले यो कुरा भन्दाखेरि मलाई फेरि पृथ्वीनारायण शाहले बनाएको कानून लाग्ला, तर हामीलाई पनि कुनै काम गराउनुछ भने पैसा नदिईकन काम हुँदैन् । हुने कामपनि पैसा दियो भनेमात्रै हुन्छ भन्ने कुरा हरेक नेपालीको मानसिकता बनेको छ । हरेक नेपालीले त्यही सोचेर काम बढाउने गरेका छन् । किन यस्तो भैरहेको छ भन्दाखेरि यी निकायहरुले इमानदारीपूवर्क काम गर्न सकेका छैनन् । कर्मचारीहरुमाथि सत्तामा आउने साथीहरुको हस्तक्षेप बढेको छ ।’

उनले कर्मचारीदेखि अन्य निकायका प्रमुखहरुलाई स्वतन्त्र रुपमा काम गर्न दिईनुपर्ने र राजनीतिक हस्तक्षेप बन्द गर्नपनि सुझाव दिए । उनले सांसदहरुले आफ्नो काममा बढि केन्द्रित हुनुपर्ने र कसैलाई दोषी करार गर्न हतार गर्न नहुने धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्