Logo

बाघ हेर्न अर्काेपटक आउँछु : देउवा



चितवन, ५ चैत । जंगल सफारीका लागि विश्व प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको आज भ्रमणपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाघ हेर्न अर्काेपटक आउने गरी बिदाइ भएका छन् ।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवा कसराको डुमरिया फाँट हुँदै पदमपुर, जर्नेली पोष्ट, विक्रम बाबा दर्शन, घडियाल प्रजनन केन्द्र अवलोकन गर्दै फर्किएका हुन् ।

निकुञ्ज घुमाउनसँगै रहनुभएका मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले भ्रमणका क्रममा सातवटा गैँडा, मयुर, गोही, चराचुरुङ्गी देखेपछि उहाँले अहिले बाघ देखिएन अर्काेपटक आउने बताए ।

ढुंगानाले भने, “पूर्व प्रधानमन्त्री देउवा गैँडा देखेपछि निकै उत्साहित हुँदै बाघ हेर्न फेरि आउने बताउनुभयो ।”

वन र वन्यजन्तु संरक्षणमा निकै चासो राख्ने देउवाले निकुञ्ज संरक्षणमा ध्यान दिन सँगै रहेका संरक्षणकर्मीलाई आग्रह पनि गरेका थिए ।

उनीसँगै सांसदहरु, काँग्रेस नेता, निकुञ्ज अधिकारी र मध्यवर्तीका पदाधिकारीहरु जंगल सफारीमा रहेका थिए । बिहान ८ बजे जिप सफारीका लागि निकुञ्ज छिर्नुभएका देउवा १०ः३० बजेमात्रै फर्किएका थिए ।



प्रतिक्रिया दिनुहोस्