Logo

हिन्दू संस्कार जागरणका लागि देशभर दुई हजार १ सय एकल विद्यालय स्थापना



काठमाडौँ, ४ वैशाख । हिन्दू धर्मका साथै शिक्षा, संस्कार, सत्सङ्ग र स्वास्थ्यका विषयमा जनचेतना जगाउने मुलुकका ५५ जिल्लामा दुई हजार १०० एकल विद्यालय स्थापना भएको छ ।

विश्व हिन्दू परिषद् नेपालको अग्रसरतामा खुलेका यी विद्यालयमा एउटै शिक्षकले चारवटै विषयमा कक्षा सञ्चालन गर्ने गरेका छन् । यो कार्यक्रम ग्रामीण जिल्लामा चलाइएको परिषद्का महामन्त्री उद्धवकुमार घिमिरेले जानकारी दिनुभयो । ग्रामीण भेगमा यस्ता विद्यालय खुलेपछि जुवातासलगायत विकृति रोकिएको परिषद्ले जनाएको छ ।

यी विद्यालयमा आमाबाबु, शिक्षक र मान्यजनलाई आदर सम्मान गर्नुपर्छ, आफूभन्दा सानालाई माया गर्नुपर्छ भन्नेजस्ता शिष्टाचार पनि सिकाइन्छ ।
जनचेतना जगाउने उद्देश्यले अनौपचारिक रुपमा सञ्चालित यी विद्यालयमा कक्षा १ देखि ४ सम्मका चारदेखि १३ वर्षका विद्यार्थीलाई शिक्षा दिइन्छ । एउटा विद्यालयमा २० देखि ३० जनासम्म विद्यार्थी अध्ययनरत छन् । देशभर ८० हजार विद्यार्थी एकल विद्यालयमा अनौपचारिक रुपमा अध्ययन गरिरहेको उहाँले बताउनुभयो ।

आज यहाँ आयोजित पत्रकार भेटघाटमा नेपाल भ्रमणमा रहनुभएका परिषद्का अन्तर्रा्ष्ट्रिय महामन्त्री चम्पक राय हिन्दू संस्कारलाई जागरण गर्ने उद्देश्यले सो संस्था स्थापना गरिएको जानकारी दिनुभयो ।

उहाँले भारतीय जनता नेपालका पशुपतिनाथ, मुक्तिनाथजस्ता तीर्थस्थलको भ्रमण र दर्शन गर्न चाहने भएकाले धार्मिक पर्यटन प्रवद्र्धनको कार्यक्रम ल्याइनुपर्नेमा जोड दिनुभयो ।

महामन्त्री राय नेपालका अधिकांश तीर्थस्थल भ्रमण सकी आजै स्वदेश फर्कने कार्यक्रम छ । परिषद्का राष्ट्रिय अध्यक्ष टीका पहाडीले हिन्दुत्व संस्कृति नयाँ पुस्तामा जागरण गर्नु संस्थाको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

पचपन्न जिल्लामा खुलेका दुई हजार १०० एकल विद्यालयले हिन्दू संस्कार र संस्कृति जागरणमा उल्लेखनीय भूमिका निर्वाह गरेको जनाइएको छ ।

तस्विर :मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot