Logo

राजनीतिक नैतिकताको खडेरी तोड्ने दृढ सङ्कल्प गरेको छु : प्रधानमन्त्री दाहाल



काठमाडौँ, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिमा लामो समयदेखि विद्यमान नैतिकताको खडेरी तोड्ने दृढ सङ्कल्प गरेको बताउनुभएको छ ।

प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेससँग भएको समझदारीअनुसार आज उहाँले बिना हिच्किचाहट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै राजीनामाको घोषणा गर्नुभयो । उहाँ गत साउन १९ गते नेपाली काँग्रेससँग आलोपालो सत्ताको नेतृत्व सम्हाल्ने समझदारीअनुसार प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो ।

देशवासीका नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले वचनको भरोसा नभएको नेतृत्वले लोकतन्त्र र राष्ट्रलाई नेतृत्व दिन नसक्ने धारणा प्रकट गर्नुभयो ।

उहाँले भन्नुभयो – “दोस्रो चरणको स्थानीय तहको निर्वाचन पनि यही सरकारले गराओेस् भन्ने सिङ्गो देश र प्रतिपक्षीसमेतको सदिक्षाप्रति म आभारी छु । तर, मैले नेपाली राजनीतिमा लामो समयदेखिको नैतिकताको खडेरी तोड्ने दृढ सङ्कल्प गरेको छु ।”

नेपाली राजनीतिको सबैभन्दा ठूलो समस्या राजनीतिक नेतृत्वमा इमानको कमी र उपयोगको संस्कृति रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो – “इमान्दार भएर भन्नुपर्दा हामी सबै कुनै न कुनै रुपमा त्यो संस्कृतिको सिकार छौँ । दलहरु र नेताबीचमा पटक–पटक भएका लिखित र अलिखित सहमति रातारात च्यातिएका थुप्रै उदाहरण छन् । सत्ता साझेदारीका हकमा त अहिलेसम्म कहिल्यै कुनै सहमति राम्रोसँग पालना भएको छैन । कसैको कसैप्रति कुनै भरोसा नहुने र हरेकले हरेकलाई उपयोग मात्रै गर्ने आजसम्मको प्रवृत्तिले लोकतन्त्रलाई संस्थागत हुन दिनेछैन ।”

प्रधानमन्त्री दाहालले सत्ता छाड्न पर्दा अहिलेसम्म देखिने गरेको पीडा, आक्रोश र छटपटीको परम्परा तोड्दै अबका दिनमा पनि एक राजनीतिज्ञका रुपमा, एक सांसदका रुपमा र एक नागरिकका रुपमा मुलुक र जनताको उत्थानमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “म आजै र अहिल्यै प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गर्दछु र म यहाँबाट सिधै राष्ट्रपतिकहाँ गएर आफ्नो राजीनामा पेस गर्दैछु । राष्ट्रिय एकता र सहमतिका निमित्त मेरो प्रयास निरन्तर जारी रहनेछ । सफल प्रधानमन्त्रीका रुपमा बिदा लिन पाउँदा खुसीको अनुभूति गरेको छु ।”

सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले भन्नुभयो, “हामी सबैलाई थाहा छ, गठबन्धन सरकारका आफ्ना सीमा हुन्छन् । फरक–फरक राजनीतिक दृष्टिकोणबीच सहकार्य स्वाभाविक रुपमा जटिल र पेचिलो हुन्छ । तर, अपवादबाहेक सरकारमा त्यो जटिलताको छाया परेन । म सरकारमा सहभागी सबै दल र मन्त्रीहरुलाई सहयोग, सद्भाव र सहकार्यका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।”

नेपालको राजनीतिमा यसअघि आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदासमेत प्रधानमन्त्री पदबाट राजीनामा नदिने, सत्ता हस्तान्तरणका लागि भएका समझदारी पालना नगर्ने, विपक्षी दलबाट सदन र सडकमा चर्काे विरोध हुँदासमेत पदमा रहिरहने र नयाँ निर्वाचित शक्तिलाई सरकार हस्तान्तरण गर्न आनाकानी गर्ने परिपाटी चल्दै आएको थियो । प्रधानमन्त्री दाहालले यिनै प्रवृत्तिहरुप्रति इङ्गित गर्नुभएको हो र लोकतन्त्रमा निष्ठा र इमान्दारितालाई स्थापित गर्नु खोज्नुभएको हो । मुलुक सङ्घीयतातर्फ उन्मुख भइरहेको यो घडीमा प्रधानमन्त्री दाहालले गर्नुभएको यो सङ्कल्प प्रशंसनीय छ । रासस



प्रतिक्रिया दिनुहोस्