Logo

एमालेले भन्यो,‘यो बजेटको हामी पूर्ण स्वागत गर्छौं, हाम्रै सहमतिमा ल्याएको हो’



काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजारका राजस्व र व्ययको वार्षिक अनुमान(बजेट) प्रस्तुत गरेको छ ।

सरकारले प्रस्तुत गरेको बजेटको बारेमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पूर्ण स्वागत गरेको छ । संसद बैठकबाट बाहिरिएका एमाले नेता माधव कुमार नेपालले भने,‘यो बजेट हाम्रै सहमतिमा आएको हो, हामी यसको पूर्ण स्वागत गर्छों।’

उता कांग्रेसले पनि बजेटको खुलेर स्वागत गरेको छ । पूर्वअर्थमन्त्री समेत रहेका कांग्रेस केन्द्रिय सदस्य डा. रामशरण महतलेपनि बजेट समग्रमा राम्रो भएको उल्लेख गर्दै बजेट कार्यान्वयनमा भने विशेष ध्यान दिनुपर्ने बताए ।

संसद भवनबाहिर पत्रकारहरुसँग प्रतिक्रिया दिँदै महतले आगामी सरकारले नीति तथा कार्यक्रम ल्याएमा पुरक बजेटका लागि ‘स्पेश’ नराखिएको बताए ।‘बजेटले भोलि नयाँ सरकारले ल्याउन सक्ने पुरक बजेटका लागि स्पेश नै राखेन’ महतले भने,’स्थानीय तहका लागि जसरी रकम छुट्याइएको छ, त्यो सकारात्मक छ ।’

उनले आफूले १२ खर्ब बराबर रहेर बजेट ल्याउन सरकारलाई सयअघि नै सुझाव दिएको बताए । महतले स्थानीय तह र प्रदशेका लागि छुट्याइएको बजेट कार्यन्वयनका लागि प्रशासनिक संयन्त्रबारे बजेटले नबोलेकोले आशंका उत्पन्न भएको बताए । महतले भने,’बजेट कार्यान्वयनका बारेमा अझै प्रशस्तै प्रश्नहरु छन् ।’

व्यवस्थापिका–संसद्को आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४/७५ का लागि उक्त रकमको बजेट प्रस्तुत गर्नुभएको हो ।
विनियोजित रकममध्ये रु आठ खर्ब तीन अर्ब ५३ करोड १४ लाख ५४ हजार चालुतर्फ र रु तीन खर्ब ३५ अर्ब १५ करोड ५९ लाख ७० हजार पुँजीगततर्फ छुट्याइएको छ ।



प्रतिक्रिया दिनुहोस्