Logo

भरतपुरमा पूनः मतदान भए सदन चल्न नदिने र प्रमुख निर्वाचन आयुक्तको राजिनामा माँग्ने एमालेको निर्णय



काठमाडौं, १७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु नगरेसम्म व्यवस्थापिका–संसद चल्न नदिने निर्णय गरेको छ ।

बुधबार विहान यसबारेमा एमाले महासचिव ईश्वर पोखरेलले यसबारेमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत जानकारी गराईसकेको बताए । पत्रकार ऋषि धमलासँगको कुराकानीमा महासचिव पोखरेलले भने,‘मैले आज विहानै फोन गरेर यसबारेमा दुवै नेताहरुलाई जानकारी गराईसकेको छु, भरतपुरको मतगणना तत्काल नगरिए हामी सदन चल्न दिँदैनौं, यतिमात्रै होईन हामीले त प्रधानमन्त्री चयन प्रक्रियामा समेत अवरोध गर्ने निर्णय लिईसकेको कुरा मैले उहाँहरुलाई जानकारी गराईसकेको छु।’

एमालेले पुन मतगणना गराउने लोकतन्त्र र निर्वाचन पद्दति विरोधी कार्यमा महान्याधिवक्ता श्रेष्ठ, माओवादी मतगणना प्रतिनिधि र निर्वाचनमा खटिएका अधिकृत कविप्रसाद न्यौपानेको मिलेमतो थियो । महान्याधिवक्ता श्रेष्ठले तयार पारेको योजना अनुसार माओवादीका गणना प्रतिनिधिले मतपत्र च्यात्ने र पुन मतदानका लागि आधार तयार गर्नेगरी निर्वाचन अधिकृतले मतगणनास्थल कब्जा भएको प्रतिक्रिया दिएर भरतपुर १९ मा पुन मतदान गराउने योजना सत्तारुढ गठबन्धनले बनाएको एमालेको आरोप छ ।

त्यतिमात्रै नभएर एमालेले प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको समेत राजिनामा माँग गर्ने निर्णय गरेको नेता पोखरेलले जानकारी दिए । उनले भने,‘पूनः मतदान गर्ने निर्णय आयोगले गर्ने बुझिएको छ, यदि त्यसो भयो भने हामी प्रमुख आयुक्तको पनि राजिनामा माँग गर्छौं।’

सोही योजना अनुसार माओवादीले मतपत्र च्यातेपछि भरतपुरको मतगणना स्थगित गरिएको छ भने सत्तारुढ गठबन्धन तथा भरतपुरको चुनावी गठबन्धनमा रहेका कांग्रेस र माओवादीले पुन मतदान गराउन माग गरेका छन् । एमालेले भने मतपत्र च्यात्नेलाई कारवाही गर्दै मतगणना सुचारु गर्न माग गरेको छ ।

भरतपुर प्रकरण लोकतन्त्र र निर्वाचन पद्दतिमाथिको आक्रमण रहेको भन्दै एमालेले सो प्रकरणको टुंगो नलागि सदनको कारवाही अघि बढाउन नदिने जनाएको हो ।



प्रतिक्रिया दिनुहोस्